हिमचितुवाको आक्रमणबाट १७ खच्चड र घोडा मरे

डिसी नेपाल
१५ साउन २०७८ १५:२६
208
Shares

गोरखा। उत्तरी गोरखामा हिमचितुवाको आक्रमणबाट १७ घोडा र खच्चडको मृत्यु भएको छ। चुम्चेतको सुलेप लेकमा गएको दुई सातादेखि लगातार हिमचितवाले घोडा र खच्चड माथि आक्रमण गर्न थालेको चुमनुव्री गाउँपालिका–६ का वडाध्यक्ष लोप्साङ लामाले जानकारी दिएका छन।

“चुम्चेतको लेकको खर्कमा चराउन छाडिएकामध्ये १६ खच्चड र एक घोडा हिमचितुवाले मारिसकेको छ”, उनले भने, “अहिले बर्खाका बेला सामान ढुवानी गर्न बाटो नभएकाले लेकमा चराउन खच्चड र घोडा छाडिएका बेला चितुवाले धमाधम आक्रमण गर्न थालेको हो।”

सडक यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्रमा खच्चडबाट नियमितरुपमा सामान ढुवानी गर्ने गरिन्छ। “जेठ अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी क्षेत्रमा पदैल र खच्चड हिँड्ने बाटोसमेत अवरुद्ध छ”, लामाले भने “चरनका लागि लेकमा छाड्ने चलन छ, चितुवाले आक्रमण गरेर मार्न थालेपछि अब छाड्न पनि डर भएको छ।”

उनले चरनका लागि खर्कमा छाडिएका खच्चड र घोडा नभेटिएपछि खोजी गर्दा चितुवाले मारेको भेटिएको बताए। वडाध्यक्ष लामाले स्थानीय आङ्दी लामा, बुझिमा लामा र चित्रबहादुर गुरुङले पाल्दै आएका घोडा र खच्चडलाई चितुवाले आक्रमण गरी मारेको जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.