दार्चुला प्रकरणमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिलाई १० दिन भित्र प्रतिवेदन दिन निर्देशन

डिसी नेपाल
१७ साउन २०७८ २१:४३
60
Shares

काठमाडौं। दार्चुलाको ब्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिब जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो।
गृहमन्त्री बालकृष्ण खाणले मन्त्री स्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार छानबिन समितिलाई १० दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले घटनास्थलको अध्ययन गरी प्रतिवेदन दिनेछ।

तुइन तरिरहेका सिंह भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएको विवरणहरु आएका छन्। तर भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नरहेको दावी गरेको छ। यो विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढका डिस्ट्रिक म्याजिस्टेड (डीएम)लाई पत्र लेखेर जानकारी मागेको थियो। दार्चुला जिप्रकाको जवाफ दिँदै पिथौरागढका डीएमले सो घटनामा एसएसबीको संलग्नता नरहेको दावी गरेका छन्।

यो घटनाबारे देशका सत्तारुढ र विपक्षी सबै दलले सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। र दोषीमाथि कारबाही र पीडितका परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.