सांसद बनाइपाउँ भन्ने ४ नेता र जसपाको आधिकारिकता पाउँ भन्ने ठाकुरको रिट एउटै न्यायाधीशकहाँ

डिसी नेपाल
१८ साउन २०७८ ११:२८
648
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले कारवाही गरेर सांसद पद गुमाएका ४ नेताले सांसद पद पुनर्बहाली गरिपाउँ भन्दै सर्वोच्च अदालतमा हालेको रिट र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगले हेड काउन्टमार्फत पार्टीको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्णय बदर गराइपाउँ भन्दै हालेको रिटको सुनुवाइ एउटै न्यायाधीशको बेन्चमा तोकिएको छ । आज दुवै रिटको सुनुवाइ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।

नेकपा माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेपछि कारवाहीमा परेर सांसद पद गुमाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले गत बुधबार आफूहरु नेकपा माओवादी केन्द्रमै रहेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै आफ्नो सांसद पद पुनर्बहाली गराइपाउँ भन्दै दर्ता गरेको रिटमाथिको सुनुवाइका यसअघि दुईपटक स्थगित भएको छ । पहिलो पेशी तोकिएका दिन हेर्न नभ्याइनेमा परेको यो रिटमाथिको सुनुवाइ पछिल्लो पटक रिट निवेदककै तर्फबाट सारिएको थियो ।

खतिवडाकै इजलासमा आज जसपाका अध्यक्ष महन्थ ठाकुरको मुद्दामाथि पनि सुनुवाइ हुँदैछ । जसपामा आधिकारिकता विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय समितिका सदस्यहरुको टाउको गनेर बहुमतका आधारमा उपेन्द्र यादवलाई पार्टीको वैधानिकता दिएको थियो । त्यसअघि महन्थ ठाकुरले हेड काउन्ट रोक्न अन्तरिक आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेको भए पनि सर्वोच्चले अन्तरिम आदेश नदिएपछि निर्वाचन आयोगले हेड काउन्ट गरेको थियो । त्यसपछि ठाकुरले हेड काउन्ट गरी गरिएको निर्णय बदर गराउन माग गर्दै अर्को रिट हालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.