छिनभरमै प्रचण्डको छटपटी बढाउने खबर

डिसी नेपाल
१९ साउन २०७८ ११:५७

काठमाडाैं।  केही खबरले मानिसको छटपटी उत्तिखेरै बढाइदिन्छन्। यस्ता खबरहरु जो कोहीको जीवनमा पनि आउन सक्छन्। र, अहिले बेलाबेलामा यस्तै एउटा खबरका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै छटपटाउने गरेका छन्। त्यो खबर हो- एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल हुने खबर।

यो खबर यति शक्तिशाली छ कि खबर आउने बेला जस्तोसुकै काममा लागेको भए पनि प्रचण्ड तत्काल सबै काम छोडेर माधव नेपाललाई भेट्न दौडिहाल्छन्।

मंगलबार पनि प्रचण्ड दौडिएर नेपाललाई भेट्न पुगे। त्यसको कारण आज ओली र नेपालबीच छलफल हुने भन्ने खबर नै थियो। पछिल्ला केही दिनयता ओली पक्षका सुवास नेम्वाङसहितका नेता र नेपाल पक्षका भीम रावलसहितका नेताले ओली र नेपालको भेटघाट गराउने चाँजोपाँजो मिलाइरहेका थिए।

प्रयास केही हदसम्म सफल भयो र आज ओली र नेपाल छलफल गर्न तयार भए। छलफलको विषय त पहिलेदेखि नै एउटै थियो र अहिले पनि सम्भवतः त्यही हो-नेकपा एमाले पार्टीको एकता।

नेकपा एमाले कानुनी र वैधानिक रुपमा विभाजित त भएको छैन तर भावनात्मक रुपमा विभाजित छ। यही कारण पार्टीको एकता गर्नुपरेको छ। र, त्यही एकताको लागि नेताहरुले प्रयास गरिरहेका छन्। माधव नेपाल पक्ष पनि तत्काल एमाले छाडेर जान सक्ने अवस्थामा छैनन्।

एमालेका दोसे तहका नेता पनि पार्टी विभाजित होस् भन्ने चाहँदैनन्। उनीहरुको चाहना पार्टीभित्र ओलीको एकछत्र राजलाई केही हदसम्म भए पनि अंकुश लगाउनु हो। यसका लागि उनीहरु ओलीका केही अधिकार कटौती गर्ने वा माधव नेपाललाई केही थप शक्ति दिलाउने पक्षमा छन्।

कानुनी रुपमा पार्टी विभाजन गरेर अर्को पार्टी गठन गर्न उनीहरुसँग पर्याप्त सांसद र केन्द्रीय सदस्य छैनन्। यत्तिकै छाडेर जाँदा पार्टी परित्याग गर्नुपर्छ जसका कारण सांसद पद समेत जान्छ।

आफ्नै ठूलो संघर्षले पुनःस्थापना भएको प्रतिनिधि सभाको सदस्य पद त्याग्न उनीहरु चाहँदैनन्। यदि सांसद पद माया मार्न सक्थे भने प्रतिनिधिसभा पुनःस्थापनाको लागि मरिहत्ते किन गर्थे ?

ओलीलाई भने माधव नेपालले पार्टी विभाजन गरिहाल्छन् कि भन्ने डर छ। पार्टी विभाजित भइहाल्यो भने अहिलेको प्रतिनिधिसभामा मात्र होइन आगामी निर्वाचनमा पनि धक्का लाग्नेछ।

धक्का ओलीलाई मात्रै होइन माधव नेपाललाई पनि लाग्नेछ किनकि एकढिक्का भएको पार्टी दुई चिरामा विभाजित हुँदा मतदाता पनि बाँडिन्छन् जसको फाइदा तेस्रो पक्षले पक्कै पनि उठाउनेछ।

एमालेका दोसे तहका नेता पनि पार्टी विभाजित होस् भन्ने चाहँदैनन्। उनीहरुको चाहना पार्टीभित्र ओलीको एकछत्र राजलाई केही हदसम्म भए पनि अंकुश लगाउनु हो। यसका लागि उनीहरु ओलीका केही अधिकार कटौती गर्ने वा माधव नेपाललाई केही थप शक्ति दिलाउने पक्षमा छन्।

प्रचण्डको हकमा भने एमाले कुनै हालतमा मिल्नु हुँदैन । यदि एमाले मिलिहाल्यो भने घाटा उनैलाई हुनेछ । संघीय सरकारमा यसको प्रत्यक्ष प्रभाव नदेखिएला तर प्रदेश सरकारमा यसको प्रभाव निश्चय पर्नेछ।

र, बहुमत प्राप्त दललाई प्रतिपक्षमा राखेर प्रदेशमा सरकार चलाइरहेको माओवादीलाई सिधा धक्का लाग्नेछ। त्यसैले एमाले कुनै हालतमा नमिलोस् भन्ने योजनामा प्रचण्ड छन्। यसका लागि जब नेपालले ओलीलाई भेट्ने तय हुन्छ त्यसको ठिक अगाडि प्रचण्ड नेपाललाई भेट्न पुगिहाल्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *