कस्तो बन्ला प्रधानमन्त्री देउवाको सचिवालय?

सम्भव सिंह ठकुरी
२० साउन २०७८ १३:४६

काठमाडौं। मुलुकको पाँचौं पटक सत्ताको बागडोर सम्हालेका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई यतिबेला महत्वपूर्ण दुई जिम्मेवारी र चुनौती प्रस्तुत भएको छ।

पहिलो कारोनाले आक्रान्त बनेको नागरिकलाई चाँडो भन्दा चाँडो खोपको सुनिश्चितता र भदौमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ।

असार २९ गते प्रधानमन्त्रीको रुपमा सपथ खाएका देउवाले तीन साता बितिसक्दापनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। यसको प्रमुख कारण भनेको चार दलसहित एमालेको माधव नेपाल समूहको गठबन्धनबाट निर्माण भएको सरकारमा मन्त्री र मन्त्रालय भागबण्डाको सकस हो।

तर सरकार सञ्चालन गर्न अर्को महत्वपूर्ण जिम्मेवारी भनेको सचिवालय बिस्तार पनि हो। सरकारको काम र परिणाम कस्तो हुन्छ भन्ने विषयमा सचिवालयको महत्वपूर्ण भूमिका हुने भएकाले यसले विशेष अर्थ हुन्छ।

त्यसकारण प्रधानमन्त्री देउवाले कस्तो सचिवालय निर्माण गर्छन् र कस्ता व्यक्तिहरुले जिम्मेवारी पाउँछन् भन्ने विषय पेचिलो बनेको छ। प्रधानमन्त्री देउवा निकट कांग्रेस नेताका अनुसार यही सातासम्म सचिवालय बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री देउवा रहेका छन्।

प्रधानमन्त्री देउवाले सपथ लिएका तीन साता बितिसक्दापनि औपचारिकरुपमा एकजनाको मात्र नियुक्ति दिएका छन्। महान्यायधिवक्ता खमबहादुर खातीलाई मात्र केही दिन अघि नियुक्ति गरेका छन्।

‘यही साताभित्र प्रधानमन्त्री सचिवालय बिस्तार गर्ने तयारीमा हुनुहुन्छ। तर को व्यक्तिहरुले जिम्मेवार पाउनुहुन्छ अहिले भनिहाल्ने अवस्था छैन,तर मलाई लाग्छ उहाँको अघिल्लो कार्यकाल कै साथीहरु सक्षम भएकाले धेरै जना दोहोरिने सम्भावना बलियो छ,’ प्रधानमन्त्री देउवा निकट मानिने नेता मिन विश्वकर्माले भने।

सचिवालयका महत्वपूर्ण जिम्मेवारीहरु भनेका प्रमुख स्वकीय सचिव, स्वकीय सचिव, प्रेस सल्लाहकार, पराराष्ट्र सल्लाहकार, राजनीतिक सल्लाहकार लगाएतका जिम्मेवार हुन्छन्।

यसरी हेर्दा प्रधानमन्त्री देउवाका निजी स्वकीय सचिव उनका भतिज भानु देउवा नै प्रमुख स्वकीय सचिवको जिम्मेवार पाउने सम्भावना बलियो छ। भानु यस अघि पनि देउवाको चौथो कार्यकाल र सभापतिको हैसियतामा पनि प्रमुख स्वकीय सचिव रहेका थिए। औपचारिकरुपमा नतोकिएपनि भानु प्रधानमन्त्री कार्यालय सिंहदरबारमा काम सुरु गरिसकेका छन्।

प्रधानमन्त्रीको लागि भूराजनीति तथा छिमेकी देशहरुसंग सौहार्दपूर्ण र सन्तुलित सम्वन्धको वातावरण सृजना गर्न पराराष्ट्र सल्लाहकारको अहम् भूमिका रहन्छ। त्यसैले पनि यो जिम्मेवारीको विशेष अर्थ रहन्छ। पराराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराईले सिंहदरबारमा काम गर्न सुरु गरिसकेका छन् यद्यपि औपचारिकरुपमा नियुक्ति पाएका छैनन्।

भट्टराई यसअघि पनि देउवाको चौथो कार्यकालमा र सुशील कोइरालाको कार्यकालमा पनि पराराष्ट्र सल्लाहकार बनिसकेका व्यक्ति र पूर्व राजदूत पनि हुन्।

राजनीति सल्लाहकारमा सहमहामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य रमेश लेखक, प्रवक्ता विश्वप्रकाश शर्माको चर्चा छ। तर कसले जिम्मेवार पाउँछ अहिले भन्ने अवस्था नरहेको स्रोतको दावी छ।

त्यस्तै, प्रेस सल्लाहकारमा देउवाको अघिल्लो कार्यकालको प्रेस सल्लाहकार गोविन्द परियार, गोरखापत्र संस्थानका निवर्तमान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, प्रेस युनियनको वर्तमान अध्यक्ष बद्री सिग्देल, सुरेश आयार्य लगाएतको चर्चा छ।

प्रधानमन्त्रीले यो पटकको सचिवालयको आकार केही ठूलो बनाउनेपनि तयारी भएको छ। मन्त्रिपरिषद्ले पूर्णता भने शुक्रबारसम्म पाउने सम्भावना रहेको छ।

‘सत्तारुढ गठबन्धनको नेताहरुबीच सरकारको प्राथमिकता र मन्त्रिपरिषद्को बिस्तारका विषयमा दैनिक छलफल भइराखेको छ। माधव नेपाल समूहका सांसदहरु पनि सरकारमा सहभागिता जनाउनेबारे एकदमै सकारात्मक हुनुहुन्छ,तर सरकारमा सहभागिता भइसकेपछि दलीय जटिलताको बिषयमा कानूनविदहरुसँग परामर्श भइराखेको छ। शुक्रबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो।

पार्टी सञ्चालनको रणनीति र महत्वपूर्ण निर्णय लिन देउवाको पुरानो समूह छ, जसलाई उनको किचन क्याबिनेटपनि भन्ने गरिन्छ।
उनको एकदमै सहयोगी र विश्वास पत्रका रुपमा लामो समयदेखि रहँदै आएको उपसभापति विमलेन्द्र निधि भने देउवाको यो कार्यकालमा किचन क्याबिनेटका भूमिकामा रहेका छैनन्। १४ औँ महाधिवेशनमा देउवा पुनःनेतृत्वमा आउने दावा गरेपछि निधि पनि सभापतिको आकांक्षी भएकाले देउवा निधिबीच विश्वासको दुरी बढेको छ।

तर, देउवाले ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँडलाई मन्त्री बनाइसकेका छन्। महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु रमेश लेखक, एनपी साउद, मिन बिश्वकर्मा देउवाको हरेक निर्णयमा अर्थ राख्ने नेताका रुपमा चिनिन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *