महराको नेतृत्वमा सरकारमा जान प्रचण्डलाई दबाव

सम्भव सिंह ठकुरी
२१ साउन २०७८ १४:२९

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ताको सहज बाटोको लागि आफ्नो सम्पूर्ण राजनीतिक शक्ति खर्च गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो दलको तर्फबाट क–कसलाई मन्त्री बनाउने भन्ने कुरामा तनावमा छन्।

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम चयन गर्न सकेको छैन। यसअघि बसेका स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ। तर मन्त्रीको आकांक्षी धेरै हुँदा प्रचण्ड तनावमा परेका छन्।

उनको लागि यतिबेला सबैभन्दा तनावको विषय कसलाई मन्त्री चयन गर्ने भन्दापनि कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषयले प्रचण्डको छटपटी बढेको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने विषयमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र अर्थमन्त्री जनार्दन शर्मा दावी गर्दै आएका छन्। तर कसको नेतृत्वमा पठाउने भन्ने विषयमा प्रचण्ड अनिर्णित छन्।

स्रोतका अनुसार नारायणकाजी श्रेष्ठ पार्टीमा पनि अध्यक्ष प्रचण्डपछि दोस्रो बरियतामा रहेकाले आफू नै उपप्रधानमन्त्री सहितको मन्त्रालय लिएर सरकारमा जाने दावी गरिरहेका छन्।

पूर्व सभामुख कृष्णबहादुर महरा पनि यौनकाण्डबाट अदालतबाट सफाई पाइसकेपछि षड्यन्त्रपूर्वक आफूलाई फसाइएको भन्दै आगामी राजनीतिक भविष्य सुरक्षित गर्न लागि परेका छन्।

महरा सभामुख हुँदा संसद सचिवालयका महिला कर्मचारीको कोठामा पुगेर यौन दुव्र्यहार गरेको आरोपमा महरा सभामुखबाट पदच्युत भएका थिए। उनलाई सोही मुद्दामा जेल चलान पनि गरिएको थियो।

तर उनलाई उक्त मुद्धामा उच्च अदालतले सफाई दिइसकेको छ। त्यसकारण महराले सत्ता यात्रामार्फत आफ्नो गुमेको शाख फिर्ता गर्न चाहेको भन्दै प्रचण्डलाई आफ्नो नेतृत्वमा सरकारमा जानुपाउनु पर्ने दबाव दिएका छन्।

स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्मापनि आफ्नो पहिलेको कार्यकालमा जनताले अनुभूति गर्ने खालको काम गरेको र पार्टीको विश्वासपनि उचाईमा पुर्याएको हुँदा आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने दावी गर्दै आएका छन्।

तर प्रचण्ड निकट एक नेताका अनुसार पार्टीभित्र महराकै नेतृत्वमा सरकारमा पठाउने मतहरु बढ्दै गएको छ। ‘नारायणजी जनताबाट अनुमोदित हुन सक्नु भएन,तथापि पार्टीले उहाँलाई राष्ट्रिय सभा सदस्यमा निर्वाचित गरायोे। तर जनताबाट प्रत्यक्ष निर्वाचित भएको हुँदा महराजीको नेतृत्वमै सरकारमा पठाउँदा राम्रो सन्देश जान्छ’, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गशेण शाहले डिसी नेपालसँग भने।

‘ओलीजीको सरकारमा सहभागी हुँदा मन्त्रीहरु पार्टी र जनतासँग कति उत्तरदायी हुने पार्टीको इज्जत बढाउने काम कसले गर्ने र कसले गर्न सकेन भन्ने कुनै कार्यदल र मापदण्ड बनेको थिएन तर अबको सरकारमा सहभागी हुँदा जो मन्त्री भए पनि र जसको नेतृत्वमा सरकारमा सहभागी भएपनि उनको कार्यसम्पादन मुल्याङ्कन गर्ने गरी सरकारमा सहभागी गराउँछौँ’, गशेण शाहले भने।

शाहका अनुसार सरकारले पूर्णमन्त्रिपरिषद् बिस्तार गर्न ढिलाई गरिसकेका हुनाले अब जनताले प्रश्न उठाउने दिन आएको भन्दै सत्तारुढ गठबन्धनले पनि आफ्नो दलबाट मन्त्री बन्ने नामावली प्रधानमन्त्री देउवालाई चाडो पठाउनु पर्ने सुझाब दिए।

‘माधव नेपालजीहरुलाई पनि सरकारमा सहभागी गराउने गठबन्धनको चाहना हो,उहाँहरुको निर्णयको पर्खाइले नै मन्त्रिपरिषद् बिस्तार गर्न ढिलाई भएको हो, मलाई लाग्छ सम्भव भए शुक्रबार नत्र आइतबारसम्म गठबन्धनको साझा मन्त्रिमण्डल बिस्तार हुन्छ,’ शाहले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *