‘विकेन्द्रीकरण गरेर भएपनि भदौभित्र अधिवेशन सम्पन्न गर्नुपर्छ’

सम्भव सिंह ठकुरी
२५ साउन २०७८ १४:४४

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय भएपनि पछिल्लो समय महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएको छ।

चार वर्षको कार्यकाल थप हुँदै पार्टीको विधान र देशको मूल संविधानले निर्धारण गरेको समयावधि एक महिना पनि बाँकी छैन। साँढे आठ लाख क्रियाशील सदस्यबाट टोल, वार्ड, पालिका, जिल्ला, प्रदेश र केन्द्रगरी करिब एक लाख पदाधिकारी र सदस्यको चयन हुनुपर्ने छ।
तर तोकिएको समयसीमा भित्र महाधिवेशन नहुने भएपछि कार्यकर्ता अन्योलमा परेका छन् भने जिल्ला अधिवेशनको रौनक नै हटेको जिल्ला सभापतिहरु बताउँछन्।

०७२ सालमा भएको १३ औं महाधिवेशनको चार वर्षे कार्यकाल पूरा भइसकेको छ। त्यसयता विधानले दिएको अधिकार अनुसार अतिरिक्त एक वर्षको कार्यकाल थप्न पाउने अधिकारपनि प्रयोग गरिसकेर पनि राजनीतिक दलसम्बन्धी धारा २६९ को उपधारा ४ ख को व्यवस्था अनुसार ६ महिना समय थप गरी भदौ भित्र अधिवेशन गर्नैै पर्ने संवैधानिक संकटमा कांग्रेस रहेको छ।

अधिवेशनको सेरोफेरोमा केन्द्रित रहेर कांग्रेस केन्द्रीय सदस्य डा.डीला संग्रौलासँग डिसी नेपालका लागि सम्भव सिंह ठकुरीले संवादको सम्पादित अंश :

एक महिना अगाडि महाधिवेशनको सरगर्मी निकै बाक्लिएको थियो। अहिले जति उत्साहजनक रुपमा अधिवेशन लाग्नु पर्ने हो त्यति देखिँदैन नि किन?

तपाईंले भने जस्तो गत फागुनमा पनि केन्द्रीय महाधिवेशन गर्ने भनेका थियौँ। त्यो बेलापनि एकदमै चहलपहल भयो। भदौको १६ देखि १९ गतेसम्म भनेर महाधिवेशनको मिति तोक्दै गर्दापनि को नेतृत्व लिने भनेर सरगर्मी तातेकै थियो।

तर बीचमा आएर सेलाउने भन्दापनि अहिले हामी प्रतिपक्षबाट सत्तापक्षमा पुगेर एउटा ऐतिहासिक जिम्मेवारीमा छौँ। दोस्रो कुरा बाढी, पहिरोको प्रकोपले वितण्डा मच्चाइरहेको पनि छ। कोरोनाको तेस्रो लहरपनि आएको छ। भदौको २३ गते हाम्रो कार्यकाल सकिँदैछ। त्यो बेला गम्भिर भएर गर्नैपर्ने जिम्मेवारी छ। तर महाधिवेशन कसरी सम्पन्न गराउने भनेर नेतृत्वको रस्साकस्सी कम भएकै हो।

साउन १२ मा तोकिएको वडा अधिवेशन त्यसपछि हुने नगर, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सबै प्रभावित भइसकेको छ। यद्यपि केन्द्रको अधिवेशन फेरिएको छैन। सो समयमा नै अधिवेशन हुनेमा कतिको ढुक्क हुनुहुन्छ?

अहिले धेरै कुराहरु सामाजिक सञ्जालमा पत्रपत्रिकामा बिभिन्न भनाइ आएका पनि छन्। अहिले साउन १२ गतेको वडा अधिवेशन र अन्य कार्यतालिका प्रभावित भइसकेको छ।

देश भरका साथीहरु प्रतिनिधि चुनिएर आउनका लागि विकट दूरदराजबाट बाढी पहिरो, कोरोना पनि नभनी आ–आफ्नो वार्ड पलिकामा पर्खेर बसिरहनु भएको छ। यो बीचमा केन्द्रीय नेतृत्व, नेतागण, सभापति, पूर्वपदाधिकारीको बैठक धेरै पटकपनि भएको छ।

तर अधिवेशन रोक्किनुको प्रमुख कारण भनेको क्रियाशील सदस्यको विवाद नै हो। क्रियाशील सदस्य नवीकरण र नयाँ बितरण भएर आएको करिब साढे आठ लाख सदस्य क्रियाशील छानबिन समितिले केन्द्रीय नेतृत्वलाई बुझाएको छ। उहाँहरुको भनाइ अनुसार ९४ प्रतिशन क्रियाशील सदस्यको विवाद समाधान भइसकेको छ। अरु केही बाँकी रहेकाहरुलाई पनि नेतृत्व तहले टुङ्ग्याउनु पर्छ।

कोभिडको समयलाई शून्य अवधि मानेर समय थपेर अगाडि लैजाने भन्ने कुरापनि आएको छ। पार्टी सभापतिलगायतका नेताहरुले निर्वाचन आयोगको पदाधिकारीसँग छलफल गर्नुभएको भन्ने कुरा मैलेपनि संचार माध्यमबाट जानकारी पाएको छु।

टुङ्ग्याउने क्रममा सभापति, वरिष्ठ नेता र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच लामो छलफल भएर बाँकी रहेका विवाद अन्त्य गर्ने भन्ने बहसपनि सकारात्मक रुपमा गएको थियो। तर पनि ठोस निर्णय आएको छैन। अब भदौपनि नजिकिन थाल्यो। समय खस्किँदै गएको छ।

अब हामीले संविधानलाई पल्टाउने र संविधानको धारा २६९ उपधारा ४ को ‘ख’ मा हेर्ने हो भने प्रतेक राजनीतिक पार्टीहरुले पाँच वर्ष भित्रमा आफ्नो प्रादेशिक र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्छ भन्ने व्यवस्था छ।

विधानले दिएको चार वर्ष जटिल, परिस्थिति हेरेर पाँच वर्ष संविधानले दिएको छ महिना हो। यो सबै कुरा भदौको २३ गते सकिँदैछ। भनेपछि यस्मा संवैधानिक,राजनैतिक र नैतिक प्रश्न त स्वभाविक उठ्छ।

त्यसैले यसका विकल्पहरु के हुन्, कसरी अधिवेशन गर्ने? भनेर कांग्रेस केन्द्रीय समितको बैठक यही २८ गते बस्दै छ। सोही बैठकले सबै कुरा टुङ्ग्याएर मलाई लाग्छ महाधिवेशनको गहन जिम्मेवारीबाट महाधिवेशनको अर्को कार्यतालिका आउने छ।

भदौ भित्र नै अधिवेशन हुनेमा ढुक्क हुनुहुन्छ कि हुनुहुन्न?

म आफूपनि केन्द्रीय सदस्य भएको नाताले समयमा अधिवेशन सम्पन्न नभएको खण्डमा मैलेपनि जिम्मेवारी लिनुपर्छ। र, गर्नुपर्छ भन्ने मान्यता राखेपछि जहाँ इच्छा, त्यहाँ विभिन्न विकल्प र उपायहरु आउँछन्। त्यसैले अधिवेशन हुनुपर्छ र हुन्छ जस्तो मलाई लाग्छ।

जस्तो लाग्छ त भन्नुभयो तर आजसम्म वडा अधिवेशन गर्न सक्नु भएको छैन?

पुरानो कार्यतालिका प्रभावित भइसक्यो अब त्यही अनुसार २८ गते बस्ने केन्द्रीय समितिको बैठकले नयाँ कार्यलातिका ल्याउँछ।

कांग्रेस आफूलाई सबैभन्दा पुरानो लोकतान्त्रिक दल हो, भनेर दावी गर्छ तर पार्टीको आन्तरिक अधिवेशन गर्नपनि किन यति हम्मे परेको?

प्रमुख कारण के छ भने नेपाली कांग्रेसको विधानलाई पल्टाउने हो भने प्रत्येक वर्ष क्रियाशील वितरण र नवीकरण गर्नुपर्छ भनेको छ। तर हामीले त्यो कुरालाई जसको कार्यकाल आएपनि विधान सम्वत कुरालाई हामीले लागू गरेनौँ। जब अधिवेशन आयो त्यहीबेला नै क्रियाशील सदस्य वितरण गर्दा धेरै प्रश्न पनि उठ्यो।

अहिले पनि केन्द्रीय पार्टी कार्यलयमा अनसन जारी छ। यो सबैको प्रमुख कारण क्रियाशील सदस्यताको विवाद समयमा टुङ्ग्याउन नसक्दा महाधिवेशनको सुनिश्चितता माथि केही प्रश्नहरु उब्जिएको छ। जसले गर्दा पार्टीका होनाहार साथीहरु अनसन बस्न बाध्य हुनुभएको छ।

दोस्रो कारण के हो भने कोरोनाको पहिलो महामारी हामीले भोगिसकेका छौँ। दोस्रो चलिराखेको छ। तेस्रो पनि कतै कतै देखा परिसकेको छ। विज्ञहरुको भनाइ अनुसार पाँचौसम्म पुग्छ भनिराखेको अवस्था छ। अब हामीले यही कोरोनालाई मात्र संकेत गर्यौं भने पार्टीको वैधता नै संकटमा पुग्छ। त्यसैले विभिन्न विकल्पहरु प्रयोग गर्नुपर्छ।

मेरो विकल्पमा यो कार्यतालिकालाई छोटो बनाउन सकिन्छ। दोस्रो महाधिवेशनको प्रक्रियालाई विकेन्द्रीकरण गरौँ भन्ने हो। किनभने कोरोनाको कहर भित्र नै अमेरिकामा राष्ट्रपति निर्वाचन भएको छ।

कोरियामा भयो, भारतमा लोकसभा निर्वाचन भयो। नेपालमा पनि राष्ट्रियसभा सदस्यको लागि उपनिर्वाचन गरेका छौँ। पत्रकार महासंघको निर्वाचन गरेका छौँ। त्यसकारण समाजिक र भौतिक दुरी कायम राखेर इच्छा शक्ति भयो भने अधिवेशन गर्न सकिन्छ।

अहिलेसम्म अधिवेशनको सुनिश्चितता नहुनुमा नेतृत्व तहको इच्छा शक्ति कम भएको हो? या नेतृत्वको असक्षमता हो?

असक्षमता भन्दापनि इच्छा शक्ति हुनुपर्छ। महामारीको डर त सबैलाई लागेको छ नि। त्यसैले एक्लै र एकले अर्कोलाई आरोप प्रत्यारोप गरेर हुने कुरापनि होइन। त्यसकारण जसरी हुन्छ, अधिवेशन अघि बढाउनु पर्छ।

केही दिन अगाडि विशेष महाधिवेशनको कुरापनि चलेको थियो। यसमा मेरो भनाइ के छ भने नेपाली कांग्रेसको अहिलेको क्रियाशील सदस्य करिब साँढे आठ लाख भन्दा धेरै भएको छ।

अहिले छलफलमै आएको विकल्प भनेको कोभिडको समयलाई शून्य अवधि मानेर समय थपेर अगाडि लैजाने भन्ने कुरापनि आएको छ। पार्टी सभापतिलगायतका नेताहरुले निर्वाचन आयोगको पदाधिकारीसँग छलफल गर्नुभएको भन्ने कुरा मैलेपनि संचार माध्यमबाट जानकारी पाएको छु।

त्यसकारण जसरी पनि पार्टीको वैधता बचाउने र संस्थागत र विधानसम्मत अधिवेशन गर्ने विषयमा २८ गते केन्द्रीय समितिको बैठकको खुला छलफलमा बसेर नयाँ कार्यतालिका सार्वजनिक गर्ने छौँ र पार्टीको वैधानिकता जोगाउने छौँ।

कांग्रेस भित्र महिला सहभागिता र नेतृत्वको विषयमा सन्तुष्ट हुनुहुन्छ?

म सन्तुष्ट छैन। किनभने कांग्रेसको इतिहासमा शैलजा आचार्य उपसभापति, चित्रालेखा यादव पूर्व कोषाध्यक्ष र सितादेवी यादव वर्तमान कोषाध्यक्ष हुनुहुन्छ। र सरकारको सहभागिताको कुरागर्ने हो भने सुजता कोइराला उपप्रधानमन्त्री हुनुभएको छ। त्यसपछि उपसभामुख चित्रालेखा यादव बन्नुभयो।

नेपालको महिला आन्दोलन भनेको आजको सात दशक देखि हरेक आन्दोलन, परिस्थिति र कठिनाइहरुमा हातमा हात र साथमा साथ लिएर गरेको हो। तर त्यो तुलनामा महिला नेतृत्व एकदमै पछाडि परेको छ।

यो अवधिमा विभिन्न नीति पनि बने तर महिलाहरु अर्थपूर्ण र निर्णायक शक्तिमा पुग्न सकेको छैन। अब १४ औँ महाधिवेशनको सेरोफेरोमा आइपुग्दै गर्दा विधान अनुसार एक तिहाई महिला भनेको छ, क्रियाशील सदस्यपनि २३ प्रतिशत महिला छन्।

तर एक महिला सहमहामन्त्री केन्द्रमा र सात वटै प्रदेशमा एक एक महिला सहमहामन्त्री तोकेको छ। त्यसकारण हामीले कि विधान संशोधन गराउनु पर्‍याे।

र अर्को कुरा बहुपदीय धारणको कुराहरुपनि आएका छन्। त्यो आउँदै गर्दा दुईवटा उपसभापतिमा एकजना महिला, दुईजना महामन्त्रीमा एकजना महिला लैजान हामीले देशभरबाट दवावपनि दिइराखेका छौँ। र बहसपनि गर्नु पर्यो भनेका छौँ। सकेसम्म विधान संशोधन गर्नु पर्यो। त्यो पनि सकिएन भने अब हामीले नेतृत्व लिनका लागि खुट्टा कमाउन भएन।

अब सरकारको कुरा गरौं। नयाँ सरकार गठन भएको एक महिना पुग्न लाग्दा समेत पूर्णमन्त्रिपरिषद् बिस्तार हुन किन नसकेको?

पूर्णमन्त्रिपरिषद् बिस्तार नहुनुमा के हो भने कांग्रेसको मात्र एकल सरकार हैन गठबन्धनबाट बनेको जगको सरकार हो। त्यसकारण बाहिरबाट हेर्दा ढिलाई हुनुमा सबै दोष प्रधानमन्त्रीलाई मात्र जान्छ। तर हामीले सक्षम र योग्य मन्त्री बनाउन उहाँलाई दबाव दिराखेका छौँ सायद चाँडै नै बिस्तार हुन्छ।

भागबण्डा मिलाउन सकस त परेको हैन ?

हाम्रो पार्टीमा त त्यो खाले समस्या छैन। प्रमुख कुरा त गठबन्धनको सरकार भएकाले अरु दललेपनि मन्त्रिको नाम पठाउनुभएको छैन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले त सबैलाई मन्त्री बनाउनु परेकोले तनाबमा छु भन्ने कुरा पनि सार्वजानिक भएका छन्।

तर हाम्रोमा धेरै संयम र धैर्य भएर नै लाग्नुभएको छ। प्रधानमन्त्रीले सहमति र सबैलाई चित्त बुझाएर मन्त्रिमण्डल बनाउनुहुन्छ भन्नेमा विश्वस्त छु।

कांग्रेसको सरकार बनाउन गठबन्धनबाट महत्वपूर्ण भूमिका खेल्नुभएको प्रचण्डसँग सरकारको साझेदारीमात्र हो या निर्वाचनसम्म नै निरन्तरता हुन्छ कस्तो लाग्छ यहाँलाई?

निर्वाचनको लागि त हामीले सोच बनाएकै छैनौँ। पार्टीभित्र यो विषयको छलफल पनि भएको छैन। हामी चाहन्छौँ यो यात्रा सरकार सञ्चालनसम्म मात्र हुुनुपर्छ। जब निर्वाचनको प्रक्रियामा हामी जान्छौँ आ–आफ्नो ऐजेण्डा र दर्शन हुन्छन्। हाम्रो मतदाताहरु लोकतान्त्रिक र वीपी कोइरालाको पार्टी भनेर चिनिएका छन्।

वीपीले भन्नुभए झैं गरिब,मजदुर र किसानको गास, बास कपास हेरेर हामीले आफ्नो ऐजेण्डा बनाउनुपर्छ । केही कुरामा सहकार्य होला तर निर्वाचनमै गठबन्धन गर्नुपर्छ भन्ने पक्षमा म छैन।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *