पोल्याण्डमा हुने ‘सुप्रा नेशनल’को प्रतिनिधित्व डा.उपाध्यायले गर्ने
काठमाडौं । पोल्याण्डमा आयोजना हुने ‘सुप्रा नेशनल प्रतियोगिता–२०२१’मा नेपालबाट डा.सन्तोष उपाध्यायले प्रतिनिधित्व गर्ने भएका छन् । मिस्टर नेपाल–२०१९ का विजेतासमेत रहेका डा.उपाध्याय उक्त प्रतियोगिताको लागि गत शनिबार पोल्याण्ड प्रस्थान गरिसकेका छन् ।
उनलाई नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले खादासहित नेपालका प्रचारात्मक सामग्री हस्तान्तरण गर्दै विदाई गरेका हुन् । अगस्ट १२ बाट बन्द प्रशिक्षणसहित आयोजना हुने सुप्रा नेशनल प्रतियोगिता–२०२१ को फाइनल अगस्ट २२ मा हुनेछ ।
कार्यक्रममा डा.रेग्मीले उपाध्यायले प्रतिनिधत्व गर्ने यस प्रतियोगिताले विश्वमञ्चमा नेपालको पहिचानलाई थप उजागर गर्ने बताए । ‘विश्वमा विभिन्न देशबाट प्रतिनिधत्व हुने कार्यक्रम भएकोले नेपाल र नेपालको पर्यटनलाई उजागर गर्न यो राम्रो प्लेटफर्म बन्न सक्छ । नेपाल साहसिक पर्यटनका लागि उर्पयुक्त गन्तव्य रहेको सन्देश दिंदै आयोजक र सहभागिलाई नेपाल प्रति आर्कषित गर्न सकिन्छ । यसले नेपालको पर्यटनमा प्रत्यक्ष रुपमा प्रभाव पार्छ, उनले भने ।
डा.रेग्मीले कोभिडले विश्वव्यापी रुपमा पर्यटन प्रभावित भएको समयमा आयोजना हुन गइरहेको यो कार्यक्रमबाट नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराउन र युवाहरुलाई नेपाल आउन आग्रह गर्न सकिने बताए ।
विदाई कार्यक्रममा डा.उपाध्यायले आफूले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड जान लागेकोले प्रतियोगितामा सहभागितासँगै सकेसम्म नेपाल चिनाउने प्रयत्न गर्ने बताए । उनले आफूले कार्यक्रममा प्रस्तुत गर्ने भिडियो सामग्रीमा समेत नेपालको पर्यटनलाई प्राथमिकता दिएर तयार पारेको जानकारी दिए ।
‘नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । त्यसैले मैले नेपालको विविधतायुक्त पहिचानलाई कार्यक्रममा प्रस्तुत गर्ने जमर्को गर्ने छु । जसबाट कार्यक्रममा सहभागीहरुले एक पटक नेपाल भ्रमण गर्ने अपेक्षा गरुन’, उनले भने ।
मिस्टर नेपालको उपाधिलाई विश्वसामु फैलाउने र सुप्रा नेशनल प्रतियोगिता–२०२१ हात पार्ने गरी आफूले तयारी गरिरहेको जानकारी दिँदै डा.उपाध्यायले यो कार्यक्रमको सहभागिताले मात्रै पनि नेपाललाई विश्वमाझ थप परिचित गराउन सहयोग पुग्ने बताए ।
लामो समयदेखि समाजसेवामा समेत सक्रिय रहेका डा.उपाध्याय पेशाले चिकित्सक हुन् । अछामका स्थायी वासिन्दा डा.उपाध्याय हाल फेस फरवार्ड एन्टि एजिइङ क्लिनिक, भाटभटेनी पुल्चोक तथा मेट्रो अस्पताल, महाराजगञ्जमा कार्यरत छन् ।







डिसी नेपाल








Facebook Comment