संसद टिकाउन अध्यादेश : नेता बिश्वकर्मा

डिसी नेपाल
१ भदौ २०७८ १४:०१
1.5k
Shares

काठमाडौं। सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ ९२० अनुसार कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद्का संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा त्यस्ता सदस्यसमेतले नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्यागेको नमानिने उल्लेख थियो।

यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ।

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले यो अध्यादेश ल्याउनुको कारण दलविभाजन गर्ने मात्र उद्देश्य नरहेको बताएका छन्। डिसी नेपालसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘अध्यादेश नल्याउने हो भने प्रतिनिधिसभाले धेरै सांसद गुमाउनुपर्ने हुन्छ। लगभग पाँच प्रतिशत सांसद नभएको प्रतिनिधिसभा चलाउनुभन्दा विघटन गर्नुपर्ने अवस्था आउन सक्छ। र अब पनि संसद विघटन गर्नु भनेको संसदीय व्यवस्थालाई नै अलोकप्रिय बनाउनु हो।’

एमाले माधव नेपाल समूह र जसपा महन्थ ठाकुर समूहलाई दलको आधिकारीकताको लागि सहज व्यवस्थाको लागि र संसदलाई निरन्तरता दिन यो अध्यादेश आवश्यक रहेको उनको दावी छ।

नेता बिकले अगाडि भने, ‘संसदमा विश्वासको मत दिएका एमाले माधवकुमार नेपाल र जसपाका महन्थ ठाकुरपक्ष सरकारमा सहभागी हुँदा आईपर्ने राजनीतिक समस्यालाई मध्यनजर गर्दै दल विभाजन सम्बन्धी अध्यादेश ल्याइएको हो।’

‘संसद हिजोबाट स्थगित भयो। तर एउटापनि विधेयक पास हुन सकेन। विधेयक पास नहुनुको प्रमुख कारण भनेको सम्बन्धीत मन्त्रालयमा मन्त्री नभएर हो। मन्त्रिपरिषद विस्तार नहुुनुको कारण भनेको विश्वासनीय सहमति नभएर हो,’ उनले भने।

उनले भने, ‘विश्वासनीय सहमति नहुनुमा नेकपा एमालेका माधवकुमार नेपाल समूह र जसपा महन्थ ठाकुर समूह सत्ता पक्ष कि विपक्षी भन्ने द्विविधाले यस्तो अवस्था भइरहेको छ। त्यसकारण उहाँहरु सत्तापक्ष नै हुनका लागि छुट्टै पहिचान चाहिन्छ। छुट्टै पहिचान भनेको दल चाहियो। अहिलेको विद्यमान व्यवस्थाले उहाँहरुको दल बन्दैन। त्यसैले विद्यमान व्यवस्थालाई अध्यादेश मार्फत आएको व्यवस्थाले माधव नेपाल र महन्थ ठाकुर समूहलाई नयाँ दल दर्ता गठन गर्ने सहजता हुन्छ । र यो सबै समाधान हुन्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.