बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यकोतर्फबाट लगानी बढाएका छौँ : महानगर प्रमुख शाक्य

डिसी नेपाल
८ भदौ २०७८ ७:०८
56
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्धको आदर्श र लुम्बिनीको पहिचान जोगाउन राज्यको तर्फबाट लगानी बढाएको बताएका छन्। काठमाडौंको बुद्धनगरस्थित बौद्ध भावना केन्द्रमा प्रतिस्थापित मूर्तिको अनावरण गर्दै शाक्यले यस्तो बताएका हुन्। केन्द्रको नवनिर्मित भवनको धम्महलमा ध्यान मुद्रामा रहेका बुद्धको प्रतिमा अनावरण गरिएको हो।

‘बुद्ध नेपालमा जन्मिए तर बिहारहरु सबै अरु देशको सहयोगमा निर्माण भए।’ महानगर प्रमुख शाक्यले भने, ‘बिहार कसले बनायो भनेर सोध्यो भने, कुनै श्रीलङकाले, कुनै थाइल्याण्डले, कुनै जापानले भन्ने उत्तर आउँछ । तर नेपालको नाम कमै मात्र आउँछ । त्यसैले मेरो नेतृत्वमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिहरुले सामुहिक निर्णय गरेर नेपाली बज्रयान परम्पराको विहार निर्माणमा सघाउन थालेका हौँ । यस अघि दाताहरुको सहयोगमा मात्र विहार निर्माण हुने गरेका थिए । हामी आए पछि राज्यको उपस्थिति जनाएका हौँ।’

महानगरले लुम्बिनीमा नेपाली शैलीको विहार बनाउन सघाएको छ। काठमाडौँको वडा २८ मा वुद्ध विहार, वडा ५ मा नरविहारलगायत अन्य विहारमा हाम्रो सहयोग गरेको प्रमुख शाक्यले जानकारी दिए।

प्रतिमा प्रतिस्थापनका अवसरमा भिक्षु इन्दक स्थविरले शील प्रदान गरेका थिए भने, भिक्षु संघबाट वुद्धाभिषेक (मंगल पाठ) र बुद्ध पूजा गरिएको थियो। भिक्षु ञाणाबुध स्थविरले उपदेश दिएका थिए। कार्यक्रमको अन्त्यमा पुण्यानुमोदन गरिएको थियो।

प्रतिस्थापित प्रतिमा बाबुकाजी शाक्यको परिवारले आफ्ना दिवंगत मातापिता, श्रीमति र छोराका नाममा दान गर्नुभएको हो ।

कार्यक्रमपछि प्रमुख शाक्यले धम्महल भवनको अवलोकनसमेत गरेका थिए। यो भवन बनाउन महानगरले करीव ४ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारकाअनुसार भवन निर्माणको काम सन्तोषजनक रुपमा भइरहेको छ। महानगरले यत्तिका सहयोग गरेको छ । अब हाम्रो चाहना भनेको घरजग्गा कर मिनाहा गरिदेओस् भन्ने हो।

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ। केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउने, ध्यान शिविर चलाउनेलगायत काम गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.