एमालेमा थपिने ५५ केन्द्रीय सदस्य माधव खेमाकै!, छान्ने जिम्मा रावल र पाण्डेलाई

डिसी नेपाल
१७ भदौ २०७८ ९:४४
6.7k
Shares

काठमाडौं। नेकपा एमालेले पार्टी विभाजनपछि रिक्त ५५ केन्द्रीय सदस्यको मनोनयन तत्कालीन वरिष्ठ नेता माधव नेपाल खेमाका नेताहरूमध्येबाटै गर्ने भएको छ।

२ जेठ २०७५ अघि एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये ५५ जनाले नेकपा (एकीकृत समाजवादी) का तर्फमा सनाखत गरेपछि एमालेमा हाल ती पद रिक्त छ। रिक्त पदपूर्ति गर्दा तत्कालीन नेपाल खेमाको विचार समूहमा रहेका तर हाल एमालेतर्फ खुलेका नेताहरूमध्येबाटै चयन गरिने एमालेले जनाएको छ।

रिक्त ५५ जना केन्द्रीय सदस्यको सिफारिस भने नेपाल समूह छोडेर अन्तिम समयमा एमालेमा समाहित भएका १० स्थायी कमिटी सदस्यले गर्नेछन्।

५५ सदस्य सिफारिस गर्ने जिम्मेवारी भने उपाध्यक्ष भीम रावल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पाएका छन्। एमाले अध्यक्ष केपी ओलीले विगतमा नेपाल समूहमा आवद्ध भएका तर हाल एमालेतर्फ खुलेका मध्येबाटै रिक्त पदपूर्ति गर्ने भन्दै रावल र पाण्डेलाई सदस्य सिफारिसको जिम्मा दिएका हुन्।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिक्त सदस्य र १० बुँदे सहमति अनुसार केन्द्रीय कमिटीमा मनोनयन गरिने १० प्रतिशत सदस्यको टुंगो विधान अधिवेशन अघि नै लगाइने तयारी छ।

उनका अनुसार विधान अधिवेशन अघि पार्टी छाडेका ५५ जना र मनोनयनमा पर्ने २० जना गरी ७५ जनालाई विधान अधिवेशन अगावै केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी छ । ‘साथीहरू कसलाई केन्द्रमा लैजाने भन्ने विषयमा छलफलमा हुनुहुन्छ चाँडै केन्द्रीय कमिटीले पूर्णता पाउँछ,’ तामाङले भने।

सदस्य तान्ने होडबाजी

एमाले विभाजन भएसँगै दुबै पार्टीका नेताहरू एकले अर्को पार्टीका नेता तानेर केन्द्रीय कमिटीमा मनोनयन गर्ने प्रतिस्पर्धामा उत्रिएका छन्।

नेकपा (एस)ले पनि चाँडै केन्द्रीय कमिटीलाई पूर्णता दिने भन्दै सम्भव भएसम्म एमालेमा आवद्ध नेताहरूलाई तानेर केन्द्रीय सदस्य बनाउने प्रयास थालेको छ।

एमालेले पनि केन्द्रीय सदस्य नभएका तर पार्टीभित्र राम्रो प्रभाव राख्ने तर हाल नेकपा (एस) मा खुलेका नेताहरूलाई केन्द्रीय सदस्यको अफर गरिरहेको छ।

नेकपा (एस)का नेता बेदुराम भुसाल केन्द्रीय कमिटीले राष्ट्रिय भेलाबाट पूर्णता पाउने बताउँदै अधिकांश एमालेका नेताहरू भेलाबाट आफ्नो पार्टीमा समाहित हुने दाबी गर्छन्। ‘एमालेका धेरै साथीहरू हामीसँग आउँदै हुनुहुन्छ, उहाँहरू केन्द्रीय कमिटीमा अटाउने ‘हेभीवेट’का हुनुहुन्छ,’ भुसालले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *