चिल्लो कारमा हिड्नेलाई के थाहा बेनी–जोमसोम सडक खण्डको दर्दनाक अवस्था? ज्यानकै आश मारेर यात्रा गर्नुपर्ने बाध्यता
काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने अवस्था रहेको छ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि यस्तो समस्या उत्पन्न भएको हो । सडकखण्डअन्र्तगत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए ।
वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।







डिसी नेपाल








Facebook Comment