कांग्रेस अधिवेशनः ओखलढुंगाका आठवटै तहमा संस्थापन खेमाका सभापति
ओखलढुंगा। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ओखलढुंगाका आठवटा स्थानीय तहमा निर्वाचन सकिएको छ। आठवटामध्ये तीनवटा तहमा निर्वाचन र पाँचवटा तहमा सहमतिमा नेतृत्व चयन भएको हो। शनिबार तीन तहमा निर्वाचन र तीन तहमा सहमतिमा नेतृत्व चयन भएको थियो।
आइतबार दुई तहमा लामो रस्साकस्सीपछि सहमतिमा नेतृत्व चयन गरिएको नेपाली कांग्रेसले जनाएको छ। सुनकोसीमा शनिबारदेखि भएको सहमतिको प्रयास आइतबार टुंगिएको छ।
त्यस्तै, मानेभञ्ज्याङ गाउँपालिकामा विवादका कारण शनिबार स्थगित अधिवेशन आइतबार सहमतिमा नेतृत्व चयन गरेर सकिएको छ। यससँगै जिल्लाका आठवटै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। सबै तहमा नेतृत्व चयन सकिएको जिल्ला सभापति प्रदीपकुमार सुनुवारले जानकारी दिए।
सबै तहमा संस्थापन हावी
निर्वाचन र सहमति दुवै प्रक्रियाबाट चयन भएको नेतृत्वमा संस्थापन खेमा हावी भएको छ। आठवटै स्थानीय तहका सभापतिसहितका पदाधिकारी संस्थापन खेमाका छन्। सिद्धिचरण नगरपालिकामा प्रेमराज गुरुङसहित अधिकांश पदाधिकारी संस्थापन खेमाका हुन्। उनका प्रतिद्वन्द्वी निबन्ध श्रेष्ठलाई रामचन्द्र पौडेल-शशांक कोइराला खेमाले समर्थन गरेको थियो। उनलाई युवा नेता रामहरि खतिवडाको समेत समर्थन रहेको बताइन्छ।
त्यस्तै, चिशंखुगढी गाउँपालिकामा गोपालमान थापा, मोलुङमा गोपी कार्की निर्वाचित भएका छन्। खिजीदेम्बामा रामकुमार सुनुवार, लिखुमा कुमारराज सुवेदी, चम्पादेवीमा विष्णु पुलामी सहमतिमा चयन भए।
सुनकोसीमा विष्णु खड्का, मानेभञ्ज्याङ गाउँपालिकामा देवबहादुर पुलामी सभापतिमा चयन भएका छन्। सहमतिमा चयन भएका पाँच तह र निर्वाचित गरी जिल्लाका सबै आठवटै तहका सभापति संस्थापन पक्षका हुन्। सबैजसो सभापति जिल्ला सभापति प्रदीप सुनुवार निकट हुन्।
जिल्लामा निर्वाचन सकिएपछि नेता रामहरि खतिवडाले संस्थापन पक्षले ‘क्लिन स्विप’ गरेको दाबी गरे। उनले भने, ‘प्रदीप सुनुवार र रामहरि मिल्दा के हुन्छ भनेर देखिएको छ।’ उनी देउवा खेमाका मानिए पनि जिल्लामा भने स्पष्ट भूमिकामा देखिँदैनन्।
दुई कार्यकाल जिल्ला सभापतिमा निर्वाचित सुनुवारको नेतृत्वमा देउवा खेमाका नेता, कार्यकर्ता यास पटक सबै स्थानीय तहमा निर्वाचित भएका छन्। यसअघि जिल्लामा कोइराला खेमा हावी थियो।







डिसी नेपाल








Facebook Comment