संयुक्त राष्ट्रसंघको महासभामा अफगानिस्तानको प्रतिनिधित्व नहुने, राजदूतले नाम फिर्ता लिए

डिसी नेपाल
१२ असोज २०७८ १०:४५
108
Shares

काठमाडौं। अफगानिस्तानबाट यस पटक कुनै पनि प्रतिनिधिले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न पाउने छैन । अशरफ गनी सरकारमा संयुक्त राष्ट्रसंघमा अफगानिस्तानका राजदुत रहेका गुलाम इसकजाइले आफ्नो नाम फिर्ता लिएका छन् । यो जानकारी संयुक्त राष्ट्रसंघका एक प्रवक्ताले दिएका हुन् ।

यसअघि गुलाम इसकजाइले संयुक्त राष्ट्रसंघको महासभामा विश्वभरका नेताहरुलाई सम्बोधन गर्ने र आफ्नो भाषणमा तालिबानलाई चुनौती दिने अपेक्षा गरिएको थियो । तर यस्तो हुन सकेन किनकि उनको नाम वक्ताहरुको सुचीबाट हटाइएको छ । राष्ट्रसंघकी प्रवक्ता मोनिका ग्रेलीले भनिन् ‘अफगानिस्तानले संयुक्त राष्ट्रसंघीय महासभामा हुने वार्षिक बहसबाट आफ्नो सहभागिता फिर्ता लिएको छ ।’ प्रवक्ताका अनुसार अफगानिस्तानले यसको कारण बताएको छैन ।

गत हप्ता तालिबानले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखेर आफ्ना नयाँ विदेशमन्त्री आमिर खान मुत्तकीलाई बहसमा भाग लिन अनुमति दिन आग्रह गरेको थियो । पत्रमा तालिबानले अशरफ गनी सरकारमा प्रतिनिधि रहेका गुलाम इसकजाइले अब राष्ट्रसंघमा अफगानिस्तानको प्रतिनिधित्व नगर्ने लेखिएको थियो ।

पत्रमा तालिबानले आफ्ना प्रवक्ता सुहेल शाहीनलाई संयुक्त राष्ट्रसंघमा अफगानिस्तानको स्थायी प्रतिनिधि बनाउनको लागि मनोनित गरिएको पनि जानकारी दिएको थियो । तालिबानको यो पत्रभन्दा पहिले गुटेरेसले १५ सेप्टेम्बरमा गुलाम इसकजाइको पत्र प्राप्त गरेका थिए जसमा संयुक्त राष्ट्रसंघको महासभा सत्रमा भाग लिने अफगान प्रतिनिधिहरुको सूची थियो । पत्रमा इसकजाइलाई राष्ट्रसंघमा अफगानिस्तानको स्थायी प्रतिनिधि भनिएको थियो ।

संयुक्त राष्ट्रसंघले अहिले पनि गुलाम इसकजाइलाई नै अफगानिस्तानको स्थायी प्रतिनिधि मान्छ । तालिबानले बहसमा भाग लिने विषयमा अमेरिका, रुस, चीनसहित ९ सदस्यीय समितिले निर्णय गर्नुपर्ने थियो तर निर्धारित समयमा यो समितिको बैठक हुन सकेन । गत महिना तालिबानले अशरफ गनी सरकारलाई हटाएर अफगानिस्तानमाथि आफ्नो नियन्त्रण स्थापित गरेको थियो । यद्यपि अफगानिस्तानमा तालिबानको सरकारले अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता पाएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *