कांग्रेसको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेका हौं : महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेजी नभइ अद्यावधिक गर्न लागेको जानकारी दिएका छन्। क्रियाशील सदस्यता खारेजीको प्रश्न उठेपछि उनले सामाजिक संजालमार्फत प्रष्टिकरण दिएका हुन्। उनले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्न लागेको जनाएका हुन्।
‘नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु-हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ।
अब अद्यावधिक हुने क्रियाशीलले हामीलाई गाउँगाउँमा जोड्नेछ, नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ।
विगतमा देखिएका त्रुटी हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदैछौं। विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा हामीले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिन्छ।
त्यसैले, भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरुलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरुलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु, पौडेलले सामाजिक संजालमा लेखेका छन्।
केही दिन अघि जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टीका पुराना सबै क्रियाशील सदस्यता खारेज भएको बताएका थिए।
आगामी वैशाख १ गतेदेखि कांग्रेसले देशभर ‘जरा अभियान’ सुरु गर्ने जानकारी दिँदै सभापति थापाले पार्टीको संगठनलाई वडा तहदेखि नै पुनर्गठित गरिने उल्लेख गरे। सदस्यता खारेजीको विषय आलोचित बनिरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment