हुम्लाका हिल्सालगायत उच्च हिमाली क्षेत्रमा हिमपात, चिसो अत्यधिक बढ्यो
हुम्ला। हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा शुक्रबार साँझदेखि लगातार वर्षासँगै हिमपात भइरहेको छ। नाम्खा गाउँपालिका–६ स्थित चीनसँगको सीमावर्ती बजार हिल्सा, न्यालु र नारा लेख लगायतका अग्ला क्षेत्रहरूमा यो वर्षकै पहिलो हिमपात भएको हो।
हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार शनिबार बिहानसम्ममा हिल्सा क्षेत्रमा करिब एक फिटसम्म हिउँ जमिसकेको छ। निरन्तरको हिमपातका कारण सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको उनले बताइन्।
करिब पाँच हजार मिटर उचाइका क्षेत्रमा हिमपात भएपछि उत्तरी हुम्लामा चिसो अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले जानकारी दिए। सुरुमा वर्षा भए पनि पछि हिमपातमा परिणत भएको उनले बताए।
यसैगरी, सदरमुकाम सिमकोट आसपासका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा समेत हिउँ परेको छ। गत वर्ष असोज २४ गते पहिलो हिमपात भएकोमा यस वर्ष भने असोज ९ गते नै हिमपात सुरु भएको हो।
लगातारको वर्षा र हिमपात भए तापनि हालसम्म कुनै मानवीय वा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment