लगातारको वर्षाले कर्णालीका राजमार्ग र प्रमुख सडकहरू ठप्प, यात्रुलाई सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
१० असोज २०८३ ८:५१

काठमाडाैं। लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा कर्णाली प्रदेशका प्रमुख राजमार्ग तथा सहायक सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, कर्णाली करिडोर र राप्ती राजमार्गसहितका मुख्य मार्गहरूमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्गको चाइना बगरदेखि सिस्नेखोला क्षेत्रमा खसेको पहिरो पन्छाउन डिभिजन सडक कार्यालय चौरजहारीको मेसिन परिचालन गरिएको छ र आगामी दुई घण्टाभित्र उक्त खण्ड सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

यता कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेर बाटो बन्द भएको छ।

यसैगरी कर्णाली करिडोरको हुम्लास्थित सर्केगाड–खच्चा क्षेत्र, मुगुको नाग्मा–गमगढी सडकखण्डको झारीखोला, जुम्ला–मुगु सडकखण्ड, जाजरकोटको छेडागाडस्थित लेवाभीर र राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट सारखोलामा पनि पहिरो खसेर यातायात पूर्ण रूपमा ठप्प भएको छ।

लगातारको वर्षाले पहाडी भू-भागमा पहिरोको जोखिम उच्च रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अपिल गरेको छ भने अवरुद्ध सडकहरू खुलाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी तीव्र रूपमा काम भइरहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *