अविरल वर्षाले सप्तकोशीमा बाढी: कोशी ब्यारेजका ४३ ढोका खोलिए
इनरूवा। बुधबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।
शनिबार बिहान ६ बजेको मापन अनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह खतराको तहभन्दा माथि पुगेपछि सम्भावित जोखिम रोक्न ब्यारेजका ५६ वटा ढोकामध्ये ४३ वटा ढोका खोलिएका हुन्।
यसअघि शुक्रबार बिहान १० बजे पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९८ हजार २ सय २० क्युसेक हुँदा २५ वटा ढोका खोलिएको थियो। त्यसपछि बहाव निरन्तर बढ्दै दिउँसो १ बजे २ लाख २९ हजार ९ सय ६० क्युसेक पुगेपछि ३० वटा र दिउँसो २ बजे २ लाख ४० हजार ५ सय ५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खुला गरिएको थियो।
पानीको बहाव खतराको तह नाघेपछि सर्वसाधारणलाई सतर्क गराउन ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालेर जोखिमको सङ्केत दिइएको छ। वर्षा जारी रहेकाले नदीमा जलसतह अझै बढ्न सक्ने अनुमान गरिएको छ।
नदीमा आएको भीषण बाढीका कारण जिल्ला प्रशासन कार्यालयले सप्तकोशी आसपासका बासिन्दा तथा तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, जोखिमपूर्ण क्षेत्रमा नजान, नदीमा माछा नमार्न र बगेर आएका दाउरा सङ्कलन नगर्न चेतावनी दिँदै सुरक्षित स्थानमा रहन अपिल गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment