नारायणीको बाढी सुस्ताको थारु टोलमा पस्यो: ७८ घरपरिवार विस्थापित, बालीनालीमा क्षति
नवलपरासी। निरन्तरको वर्षाका कारण पश्चिम नवलपरासीको सुस्तास्थित थारु टोलमा नारायणी नदीको बाढी पसेपछि स्थानीयवासी समस्यामा परेका छन्। नदीको बाढी बस्तीमा प्रवेश गरेपछि सुस्ता गाउँपालिका-५ थारु टोलका बासिन्दा घर छाड्न बाध्य भएका छन्।
बाढी बस्तीमा पसेपछि नजिकै रहेको सामुदायिक भवन (सुरक्षित आश्रयस्थल) र आफन्तको घरमा गएर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपकराज नेपालले जानकारी दिए। उनका अनुसार जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालका अनुसार थारु टोलका ७८ घरपरिवारलाई सुरक्षित आश्रयस्थल र आफन्तकोमा सारिएको छ। बाढी बस्तीमा पसेलगत्तै नेपाल प्रहरीलगायतका उद्धारकर्मीहरूले माइकिङ तथा सूचना प्रवाह गर्दै स्थानीयको उद्धार र स्थानान्तरणमा सहयोग गरेका थिए।
लगातारको वर्षाले बस्तीका घर, खेतबारी तथा गोरेटो बाटाहरू डुबानमा परेका छन्। स्थानीय किसान मुन्सीकुमार हरिजनका अनुसार बाढीले घरसँगै अन्नबालीमा ठूलो क्षति पुर्याएको छ। आफूले १० कट्ठामा लगाएको उखु खेती बाढीले कटान गरी बगाएको र गाउँका दर्जनौँ किसानको धान तथा उखु खेतीमा क्षति पुगेको उनले बताए।
वर्षायाम सुरु भएदेखि नै नारायणी नदीले सुस्तास्थित अस्थायी बाँध कटान गर्दै आएको थियो। समयमै प्रभावकारी नियन्त्रण नहुँदा नदीले ठूलो मात्रामा सुस्ताको भूमि कटान गर्नुका साथै अहिले सिधै मानव बस्ती र खेतबारीमा क्षति पुर्याउन थालेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment