उत्तर कोरियाले हिजो हानेको मिसाइलबारे सनसनीपूर्ण खुलासा, पश्चिमी देशहरुमा ठूलो हलचल
काठमाडौं। उत्तर कोरियाले मंगलबार आफूले हानेको मिसाइलबारे खुलासा गरेको छ । यो खुलासाले अमेरिकासहित पश्चिमी देशहरुमा ठूलो हलचल ल्याइदिएको छ किनकि उत्तर कोरियाले आफूले मंगलबार हानेको मिसाइल ‘हाइपरसोनिक मिलसाइल’ भएको बताएको छ । यतिमात्र होइन उसले मंगलबार हाइपरसोनिक मिसाइलको परीक्षण गरेकोमा यो परीक्षण सफल रहेको समेत बताएको छ ।
यदि उत्तर कोरियाले परीक्षण गरेको यो मिसाइल हाइपरसोनिक नै हो भने यसले धेरै ठूलो अर्थ राख्छ जसका कारण पश्चिमा देशहरुमा ठूलो तरंग आउनु स्वभाविक हो । हाइपरसोनिक प्रविधि निकै उन्नत र अत्याधुनिक प्रविधि हो । यो प्रविधिबाट बनेका मिसाइल अहिलेसम्म रुस, चीन र अमेरिकासँग मात्र छन् ।
यी देशहरुले पनि यही वर्ष २०२१ मा मात्र हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेका हुन् । अमेरिकाले त गत हप्ता मात्र हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको पेन्टागनले बताएको थियो । यस्तोमा अमेरिकाले हाइपरसोनिक मिसाइल बनाएको एक हप्तामै उत्तर कोरियाले पनि हाइपरसोनिक मिसाइलको सफल परीक्षण गर्नु पश्चिमा देशहरुको लागि ठूलो चुनौती हो ।
उत्तर कोरियाले हिजो सफल परीक्षण गरेको हाइपरसोनिक मिसाइलको नाम होसोंग–८ भनेको छ । उत्तर कोरियाको सरकारी मिडिया केसीएनएका अनुसार यो मिसाइल उसको पञ्चवर्षीय सैन्य योजनाको नयाँ हतियार प्रणाली अन्तर्गत बनेका पाँच सबैभन्दा महत्वपूर्ण हतियारमध्ये एक हो । केसीएनएले यो नयाँ मिसाइललाई रणनीतिक हतियार भनेको छ ।
आम रुपमा रणनीतिक हतियार भन्नाले परमाणु क्षमताले युक्त हतियार भन्ने बुझिन्छ । यो नयाँ मिसाइलको परीक्षणले कडा प्रतिबन्धका बीच पनि उत्तर कोरियाले लगातार आफ्नो हतियार प्रविधि विकसित गरिरहेको खुलासा हुन्छ । यो एक महिनाभित्र मात्रै उत्तर कोरियाले तीनवटा मिसाइलको परीक्षण गरिसकेको छ ।
यसअघि उत्तर कोरियाले नयाँ किसिमको एक क्रुज मिसाइल र एउटा ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो । यसै वर्ष जनवरीमा भएको सेनाको बैठकमा उत्तर कोरियाली शासक किम जोंग उनले वैज्ञानिकहरुले हाइपरसोनिक हतियार विकसित गरेको बताएका थिए ।
उनले आफ्नो भाषणमा हतियारको एक सूची सार्वजनिक गरेका थिए जुन सूचीमा भएका हतियार उनी आफ्नो सेनासँग देख्न चाहन्थे । उत्तर कोरियाले पछिल्लो मिसाइल परीक्षण गर्नुभन्दा एक दिन अगाडि दक्षिण कोरियासँग कुराकानीको इच्छा व्यक्त गरेको थियो । अमेरिकी सेनाले एक बयान जारी गर्दै आफूलाई यो मिसाइलबारे थाहा भएको र यसबाट आफू र अन्य सहयोगीलाई तत्काल कुनै खतरा नभएको बताए ।







डिसी नेपाल







Facebook Comment