दोषीलाई सजाय सुनाएका सयौं न्यायाधीशहरु आफैंले कठोर सजाय पाउने त्रासले लुकिरहेछन्

डिसी नेपाल
१३ असोज २०७८ १२:२६
524
Shares

काठमाडौं। महिला अधिकारको लागि उनीहरु अग्रदूत थिए । उनीहरु कानुन र ती व्यक्तिहरुको रक्षक थिए जो देशमा पीडित थिए र न्याय चाहन्थे । तर, अहिले २ सय २० भन्दा भन्दा धेरै अफगानी महिला न्यायाधीश तालिबानको नियन्त्रणपछि आफूहरुले नै कठोर सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका विभिन्न खुफिया स्थानबाट ६ महिला पूर्व न्यायाधीशले बीबीसीसँग कुरा गरेका छन् । सुरक्षा कारणले यी सबैको नाम बदलिएको छ ।

मासूमाले आफ्नो न्यायाधीशको करिअरमा सयौं पुरुषहरुलाई महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाको आरोपमा सजाय दिएकी छिन् । तर, तालिबानले जब सहरमा कब्जा गर्यो र हजारौं दोषी अपराधीहरुलाई जेलबाट रिहा गरिदियो त्यसपछि मासूमालाई ज्यान मार्ने धम्की आउन थाले । अञ्जान नम्बरहरुबाट उनको फोनमा म्यासेज र भ्वाइस नोटहरु आउन थाले ।

मासुमा भन्छिन् ‘त्यतिबेला आधा रात भइरहेको थियो जतिबेला हामीले तालिबानले जेलमा बन्द सबै कैदीहरुलाई रिहा गरिदिए भन्ने सुन्यौं । हामी तत्कालै भाग्यौं । हामीले आफ्नो घर र सबथोल त्यत्तिकै छोड्यौं ।’ विगत २० वर्षमा अफगानिस्तानमा २ सय ७० महिलाहरुले न्यायाधीशको रुपमा काम गरिसकेका छन् । यीमध्ये कैयौं देशका प्रसिद्ध र शक्तिशाली महिला थिए जसलाई धेरैले चिन्थे ।

मासुमाले भनिन् ‘सहरमा कारमा यात्रा गर्दा मैले बुर्का लगाएकी थिएँ ताकि कसैले मलाई चिन्न नसकुन् । सौभाग्यले हामीले सबै तालिबान चेक प्वाइन्टहरु पार गर्यौं ।’ जब मासूमाले आफ्नो घर छोडिन् त्यसको केही समयमै छिमेकीहरुले उनलाई म्यासेज गरेर तालिबानका कैयौं सदस्य उनको घरमा आएको बताए । उनका अनुसार छिमेकीले उनलाई खोज्दै आएका पुरुषहरुको हुलिया बताएपछि उनले बुझिन् कि को उनलाई खोज्दै आएका थिए ।

महिनौं पहिले जतिबेला तालिबानले देशमा कब्जा गरेको थिएन त्यतिबेला मासूमाले एक केसको फैसला गरेकी थिइन् जसमा तालिबानका एक सदस्यले आफ्नी पत्नीको निर्मम हत्या गरेका थिए । दोषीलाई मासुमाले २० वर्षको जेल सजाय सुनाएकी थिइन् । मासूमा भन्छिन् ‘म ती जवान महिलाको अनुहार आज पनि सम्झिन्छु । त्यो निकै विभत्स अपराध थियो । केस सकिएपछि अपराधीले मसँग सम्पर्क गरेका थिए । उनले भनेका थिए कि जब जेलबाट बाहिर आउँछन् मेरो हाल पनि त्यस्तै गर्छन् जस्तो आफ्नी पत्नीको गरेका थिए ।’

त्यतिबेला मासूमाले यो कुरालाई गम्भीरतासँग लिएकी थिइनन् तर तालिबान सत्तामा आएपछि ती अपराधीले मासूमालाई फोन गरे र अदालतबाट मासुमाबारे सबै जानकारी लिएको बताए । ‘उसले मसँग भन्यो – म तिमीलाई खोज्छु र आफ्नो बदला लिन्छु ।’ बीबीसीको जाँचका यस्ता कम्तीमा २ सय २० महिला न्यायाधीश अफगानिस्तानमै लुकेर बसेको पाइएको छ । विभिन्न प्रान्तमा लुकेका ६ पूर्व न्यायाधीशहरुले लगभग उस्तै कुरा बताए ।

सबैलाई तालिबानका सदस्यले मारिदिने धम्की दिएका थिए । यसरी धम्की दिनेहरु तिनै थिए जसलाई यी न्यायाधीशले जेल सजाय सुनाएका थिए । यीमध्ये ४ जना ती पुरुष थिए जसलाई आफ्नी पत्नीको हत्याको अपराधमा जेल सजाय सुनाइएको थियो । सबै पूर्व न्यायाधीशहरुले धम्की आएपछि कम्तीमा एक पटक आफ्नो नम्बर परिवर्तन गरिसकेका छन् । उनीहरु फरक फरक ठाउँमा लुकेका छन् र केही दिनमा आफू लुक्ने ठाउँ बदल्छन् । उनीहरु पहिले बसेको घरमा तालिबानका सदस्य आइरहन्छन् र उनीहरुबारे सोधिरहन्छन् ।

यी आरोपको जवाफमा तालिबानका प्रवक्ता बिलाल करीमीले बीबीसीसँग भने ‘महिला न्यायाधीशहरु अन्य महिलाहरुजस्तै नडराइ बस्नुपर्छ । कसैले पनि उनीहरुलाई धम्क्याउनु हुँदेन । हाम्रो विशेष सैन्य इकाइहरुले यी गुनासोहरुको चाँच गर्नेछन् र यदि कुनै उल्लंघन भएको भए कारवाही गर्नेछन् ।’ यसका साथै उनले तालिबानको पुरानो प्रतिबद्धता दोहोर्याए जसमा तालिबानले अघिल्लो सरकारका सबै कर्मचारीलाई आम माफी दिएको थियो । उनले भने ‘हाम्रो आम माफी एकदम पक्का हो तर यदि कोही देश छोडेर जान चाहन्छ भने हामी यत्ति भन्छौं कि अहिले यस्तो नगर्नुस्, आफ्नो देशमै बस्नुस् ।’

कैदहिरुलाई जब जेलबाट छोडिएको थियो त्यतिबेला यीमध्ये भारी संख्यामा यस्ता अपराधीहरु पनि थिए जो तालिबानसँग सम्बन्धित थिएनन् । महिला न्यायाधीशहरुको सुरक्षाका विषयमा करीमीले भने ‘नशा तस्कर, माफियाका सदस्यको मामिलामा हाम्रो सोच स्पष्ट छ कि हामी उनीहरुलाई विनाश गर्न चाहन्छौं । हामी गम्भीरतापूर्वक उनीहरुविरुद्ध कारवाही गर्नेछौं ।’ धेरै पढेलेखेका यी महिलाहरु आफ्नो परिवारमा कमाउने एक्लो सदस्य थिए । अब उनीहरुको पारिश्रमिक बन्द भइसकेको छ र बैंक खाता सील गरिएको छ । अब उनीहरुले बाँच्नको लागि परिवारको अगाडि हात फैलाउनु परिरहेको छ ।

तीन दशकभन्दा धेरै समयसम्म महिला न्यायाधीश सनाले महिला र बालबालिकाविरुद्ध हिंसाको जाँच गरिरहेकी थिइन् । उनका अनुसार अधिकांश केसहरुमा उनले तालिबानका सदस्यका साथसाथै चरमपन्थी समूह आइएसआइएसका सदस्यहरुलाई सजाय दिइन् । ‘मलाई २० भन्दा धेरै धम्कीपूर्ण फोन आइसकेका छन् । यी सबै पूर्व कैदी हुन् जो अहिले जेलबाहिर छन्’ उनले भनिन् । उनी अहिले परिवारका १ दर्जनभन्दा धेरै सदस्यसँग कुनै गुप्त स्थानमा लुकेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *