फुमियो किशिडा जापानको प्रधानमन्त्री बन्दै
काठमाडौं। जापानको नयाँ प्रधानमन्त्री फुमियो किशिडा बन्ने भएका छन् । यहाँको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्वको रेस किशिडाले जितेका छन् र अब उनी जापानका अबका प्रधानमन्त्री बन्नेछन् । योशिहिदे सुगाको ठाउँमा अब किशिडालाई प्रधानमन्त्री बनाइनेछ । सुगाले एक वर्ष प्रधानमन्त्री पदमा रहेपछि पदबाट हट्ने निर्णय गरेका थिए ।
नयाँ प्रधानमन्त्रीको पहिलो लक्ष्य आगामी चुनाबमा एलडिपीलाई जीत दिलाउनु हुनेछ किनकि जनताको असन्तुष्टिका बीचमा टोक्यो ओलम्पिक आयोजनाका कारण पार्टीको लोकप्रियतामा भारी गिरावट देखिएको छ । पूर्व विदेशमन्त्री किशिडाले टारो कोनोलाई उछिन्दै पार्टीको प्रमुख र प्रधानमन्त्री पदमा कब्जा गरेका हुन् । फोनोलाई सबैभन्दा चर्चित उम्मेदवार मानिएको थियो ।
किशिडाको लामो समयदेखि प्रधानमन्त्री बन्ने लक्ष्य थियो तर गत वर्ष चुनाबमा उनी सुगासँग हारेका थिए । जापानका नयाँ प्रधानमन्त्रीको अगाडि धेरै चुनौतीहरु छन् जसमा कोरोना महामारीपछि देशको आर्थिक स्थिति दुरुस्त बनाउने र उत्तर कोरियाबाट हुन सक्ने खतरासँग जुध्ने लगायत छन् । उनले महामारीसँग जुध्नको लागि ‘हेल्थ क्राइसिस म्यानेजमेन्ट एजेन्सी’ गठन गर्ने पनि भनेका छन् ।
कोरोना महामारीलाई व्यवस्थापन गर्ने विषयमा अहिलेका प्रधानमन्त्री सुगाको आलोचना पनि भएको थियो । यसले उनको रेटिङमा गिरावट देखिएको थियो । यसलगत्ते उनले एक वर्षसम्म प्रधानमन्त्री पदमा रहेपछि पद छोड्ने घोषणा गरेका थिए ।







डिसी नेपाल







Facebook Comment