एमालेले भन्यो: आगामी चुनावमा सरकारको नेतृत्व लिनेगरी तयारीमा जुट्नुपर्छ
काठमाडौं। नेकपा एमालेले पार्टीको तर्फका संभावित उम्मेदवारहरूलाई सुरुदेखि नै जनताका बीचमा स्थापित गराउन त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने बताइएको छ।
प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा अबको छ महिनापछि स्थानीय तह, त्यसपछि संघ र प्रदेशको निर्वाचन हुने भएकाले जनताका बीचमा स्थापित गराई निर्वाचनमा सफलता हासिल गर्न सकिने भएकाले त्यसका लागि सम्बन्धित तहको नेतृत्वले विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
‘पार्टी अनुशासनको पालना गर्न सक्ने, वैचारिक र राजनीतिक रूपमा स्पष्ट, आफू निर्वाचित भएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सार्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
यस्तै, उम्मेदवार बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि संस्थागत सिफारिसको प्रक्रियामा जोड दिनुपर्ने प्रतिवेदनको प्रस्तावमा उल्लेख छ । ‘पार्टीको उम्मेदवार बनेर चुनाव लड्ने र चुनाव जितेपछि पार्टीविरुद्ध घात गर्ने प्रवृत्तिबाट पार्टीलाई जोगाउनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
चुनाव जित्ने र चुनाव जितिसकेपछि पार्टीको योजनामा पार्टीको पक्षमा दृढतापूर्वक उभिने जनप्रतिनिधि निर्वाचित गराउने कुरामा पार्टीले ध्यान दिनुपर्ने बताइएको छ ।
पार्टीले आफ्नो शक्तिलाई एकताबद्ध रूपमा परिचालित गर्न र पार्टीको नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनताका बीचमा लगेर स्थापित गर्ने हो भने आउने चुनाव अनुकूलतामा परिणत हुने प्रबल संभावना रहेको प्रतिवेदनमा उल्लेख छ ।
‘पार्टीको राजनीतिक कार्यदिशालाई सफल बनाउनका लागि आगामी निर्वाचनमा सरकारको नेतृत्व गर्ने गरी हाम्रो पार्टीले बहुमत हासिल गर्नु आवश्यक छ । त्यसका लागि अहिलेदेखि नै तयारीमा जुट्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।







डिसी नेपाल








Facebook Comment