अब भनसुन र सम्बन्धको भरमा नेता बन्ने दिन गएः ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नातागोता र भनसुनको आधारमा पार्टी नचल्ने बताएका छन् ।
आइतबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै पोखरेलले नेता बनाउने र बन्ने क्रममा भएका आलोचना सम्मानयोग्य भएको बताए । ‘कम्युनिस्ट पार्टीमा अब भनसुन र सम्बन्धको भरमा नेता बन्ने दिन गए,’उनले भने ।
पोखरेलले नेतृत्वमा २० प्रतिशत युवा हुनुपर्ने मागमा पार्टी सकारात्मक रहेको तर मापदण्ड पुग्नुपर्ने बताए । ‘नेतृत्वमा उमेरमात्र नहेरौं । योग्यता देखाउने जो कोही नेता हुनसक्छन्,’ उनले भने, ‘नेतृत्वमा आउन समृद्धिका प्रभावकारी नीति र योजना बनाउनेमात्र नेतृत्वमा आउँछ । पुस्ताको कुरामात्र होइन, आन्दोलनका एजेण्डा बोक्ने हिसाबले नेतृत्वमा पुग्ने पद्धति बस्छ ।’
कार्यकर्ता मूल्यांकन गर्न शक्तिशाली आयोगको माग आएको भन्दै उनले कमिटी प्रणालीबाट मूल्यांकन हुने तर व्यक्तिका कुरा सुनेर नहुने बताए ।
‘कम्युनिस्ट पार्टी विचारबाट बन्छ, सबै ठाउँमा समानुपातिक हेरेर कम्युनिस्ट पार्टी बन्दैन । विचारका आधारमामात्र पार्टी बन्छ । जनसंख्याका आधारमा पार्टी बन्दैन,’ उनले भने ।
महासचिव पोखरेलले लोककल्याणकारी काममा एमालेले देशव्यापी रुपमा कार्यकर्ता खटाउने पनि बताए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment