३३ किलो सुन तस्करी प्रकरणमा ८ जना दोषी ठहर, गोरेलाई जन्मकैद
काठमाडौं। ३३ किलो सुन तस्करी प्रकरणमा ८ जनालाई दोषी ठहर गरिएको छ । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी र उक्त सुन लिएर आउने भरिया सनम शाक्यको हत्यामा संलग्न रहेको आरोपमा मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसहित ८ जनालाई दोषी ठहर गरेको छ । अरुले भने सफाइ पाएका छन् ।
फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । सनम शाक्यको हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई सनम शाक्यको हत्या अभियोगमा दोषी ठहर गरी जन्मकैदको सजाय सुनाइएको छ । अन्य दुई जनामध्ये एक जनालाई तीन वर्ष र अर्कालाई ६ महिना कैद सजाय सुनाइएको छ ।
अपहरण तथा शरीर बन्धकमा गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् । सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे २०७५ सालको जेठमा पक्राउ परेका थिए । तत्कालीन समयमा सुन तस्करीबारे छानविन गरिरहेको उच्चस्तरीय समितिले उनलाई पक्राउ गरेपछि सनम शाक्य हत्याको मुद्दा चलिरहेको मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो । गोरेलाई गौरीघाटबाट पक्राउ गरिएको थियो ।
तत्कालीन छानबिन समितिले अनुसन्धानका क्रममा चार वर्षमा ३८ क्विन्टल सुन तस्करी भएको ठहर गरेको थियो । त्यस आधारमा ९ प्रहरी अधिकारीसहित ६५ जनाविरुद्ध मुद्दा चलाइएको थियो । पछिल्लो पटक गोरे समूहले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि त्यसको खोजीका क्रममा सनम शाक्यको हत्या भएको थियो । त्यसको छानविनका क्रममा गोरे र उनको समूहले गर्दै आएको सुन तस्करीको पोल खुलेको थियो ।







डिसी नेपाल








Facebook Comment