धुलिखेल शून्य कार्वन उत्सर्जन गर्ने एसियाकै पहिलो शहर
काठमाडौं । शून्य कार्वन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा शहर मध्ये पाचौँ नम्बरमा काभ्रेको धुलिखेल नगरपालिका परेको छ। कार्वन उत्सर्जनलाई शून्य गराउँदै वातावरणमैत्री बन्ने एसियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको हो।
विश्वमा चुनौतीको रुपमा रहेको कार्वन उत्सर्जनलाई शून्य बनाउने एसियाको पहिलो र विश्वका १५ वटा शहरको सूचीमा पर्नुमा नगरपालिकाले धेरै काम गर्नु परेको नगरप्रमुख अशोक ब्याञ्जु बताउँछन्।
ब्याञ्जुले डिसीनेपालसँग भने, ‘हामीले सानो–सानो कुरामा ध्यान दिएको अवस्थामा ठूलै काम गरिरहेका हुँदा रहेछौं। यो उदाहरण पनि हो। सामान्यतः सबै नगरपालिकाहरुले गर्ने आधारभूत काम नै गरेका हौं। अहिले वातावरणमैत्री र शून्य कार्वन उत्सर्जन गर्ने नगरपालिकामा एसियाकै पहिलो विश्वका १५ वटा शहरहरुको सूचीमा पर्न सफल भयौं। खुसी लागेको छ।’
धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्यमा नागरिकको प्रत्यक्ष ख्याल राख्दै आएको छ। एक घर एक धारा, एक वडा पाँच पार्क, स्वास्थ्य शहर, वातावरणमैत्री शहर, बालवालिकामैत्री शहरलगायतका विभिन्न योजनामा काम गरिरहेको छ।
नगर प्रमुख ब्याञ्जुले भने, ‘एउटा त हामीले धुलिखेल नगरपालिकालाई वातावरण मैत्री बनाउने काम अघि बढाएका छौं। यहाँको घरघरबाट निस्कने ढलको ट्रिटमेन्ट प्लान्टको काम ७१ प्रतिशत गरिसकेका छौं। दिसाजन्य लेदो पदार्थको व्यवस्थापन बिलगेट्स फाउण्डेसनसँग मिलेर गरिरहेका छौं। वातावरणीय अवस्थालाई ध्यानमा राखेर वन तथा वातावरणको लागि एक लाख विरुवा रोप्ने काम गरेका छौं। फोहोर मैला व्यवस्थापनमा पनि नेपालकै उदाहरणीय बनेर ग्यास र मल उत्पादन गर्ने काम गरेका छौं।’
नगरपालिकाले आकाशबाट झरेका पानी कलेक्सन गर्ने, आफ्नो उद्योगधन्दाबाट उत्पादन हुने फोहोरहरुको आफैले ट्रिटमेन्ट प्लान्ट बनाउने उद्योगधन्दालाई १० प्रतिशत कर छुट गरेको पनि नगर प्रमुख ब्याञ्जुको भनाइ छ।
‘पानी रिचार्जिङ कार्यक्रमहरुको मोडेलमा पनि काम भइरहेको छ। सवारी साधनहरुबाट उत्पन्न हुने प्रदुषण कम गराउने, उद्योगहरु राख्दा पनि प्रदुषण हुनेखालको नराख्ने, प्रदुषण शून्य भएको शहर बनाउनेलयातका सामान्य काम गरेका हौं। ती कार्यक्रमहरुले नै कार्वन उत्सर्जनमा कटौति भयो। त्यसरी शून्य कार्वन उत्सर्जन गर्ने नगरपालिका बन्यो।’
धुलिखेलले दक्षिण एसियामै पहिलोपटक जीवाश्म इन्धन अप्रसार सन्धी अभियानलाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख ब्याञ्जुले जानकारी दिए। उनले उक्त सन्धी अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगरक्षेत्रलाई पर्यटकीय सहरको रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाएको बताए।
यसअघि पनि वन तथा वातावरण मन्त्रालयले कार्वन उत्सर्जनलाई काम गरेर विश्व बैंकबाट पाँच वर्षमा पाँच अर्ब रुपैयाँ नेपाल ल्याउने अनुमान गरेको थियो। विश्वबैंकले कार्वन उत्सर्जन कटौती गर्न सक्ने देशहरुलाई प्रतिटन कार्वनको पाँच अमेरिकी डलर दिने घोषणा गरेको थियो।
वन विज्ञका अनुसार नेपालमा कार्वन कटौती गरेर पाँच वर्षमा पाँच अर्ब रुपैयाँ भित्र्याउन सकिने सम्भावना रहेको छ। नेपालले पाँच वर्षमा ९१ लाख ५० हजार मेट्रिक टन बढी कार्वन उत्सर्जन कटौती गर्नसक्छ।
बेलायतको ग्लास्गोमा आगामी महिना हुन लागेको राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ अगाडि यो सूची सार्वजनिक भएको हो। उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौं स्थानमा छ।








डिसी नेपाल








Facebook Comment