बुटवल-नारायणगढ सडकमा यात्रा गर्नै सकस, ९० प्रतिशत काम बाँकी

डिसी नेपाल
२२ असोज २०७८ ९:३५
628
Shares

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक विस्तारमा ढिलासुस्ती भएपछि यात्रुहरूको आवागमन कष्टकर बनेको छ। पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुनुका साथै खाल्डाखुल्डीका कारण यो सडक भएर यात्रा गर्ने हरेक यात्रुले सास्ती पाइरहेका छन्। दशैं सुरु भएपछि यो सडकखण्ड भएर हिँड्ने यात्रु र सवारीसाधन बढेका छन्।

बुटवल-नारायणगढ सडकखण्डको एक सय १३ किलोमिटर क्षेत्रमा नौवटा ठूला पुल र एक सय १६ वटा कल्भर्ट बनाउन भत्काइएकाे छ। सानो पानी आउँदा पनि पुल र कल्भर्टबाट बग्ने पानी सडकमा आउँछ । जसकारण घन्टौं सडक बन्द हुने गरेको छ।

१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले २०७५ पुसमा बुटवल-नारायणगढ सडक विस्तारको ठेक्का लिएको थियो। दुई लेनको सडक बजार क्षेत्रमा ६, अन्यत्र चार र दाउन्नेको उकालोमा तीन लेनमा विस्तार गरी तीन वर्ष ६ महिनामा सक्नुपर्ने काम दुई वर्ष नौ महिना पुग्दा साढे ९ प्रतिशत मात्रै सकिएको छ। बाँकी ९० प्रतिशत काम कहिले सकिने हो टुंगो छैन। नारायणगढ खण्ड र बुटवल खण्ड गरी दुईतिरबाट विस्तार थालिएको सडकमा ठेकेदारले एक ठाउँमा पूरा गर्नुको साटो जताततै भत्काएर लथालिंग पारेको छ।

सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा छ। यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जंगल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ।

सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ-बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउँछन्। ‘सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ,’ लामिछानेले भने, ‘झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु-याउनुपर्छ। बाटोका कारण बिरामीलाई अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ।’

सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारीसाधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन चाँडै बिग्रिने गरेको गुनासो गरे।

नारायणगढ–बुटवल सडक आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले खण्ड-१ मा रहेका सबै खाल्डाखुल्डी अब छिट्टै पुरेर सकिने बताए । निर्माण कम्पनीको कन्ट्रयाक्ट म्यानेजरले आयोजनालाई नटेरेपछि पुरानोलाई हटाएर कम्पनीले नयाँ कन्ट्रयाक्ट म्यानेजर पठाएको भन्दै आचार्यले नयाँ म्यानेजरले आफूहरूले भनेअनुसार काम गरेको बताए।

मनसुनसमेत सकिएकाले अब भत्किएका बाटो मर्मतसँगै सडक विस्तारको कामले तीव्रता पाउने सूचना अधिकारी आचार्यको भनाइ छ । काममा ढिलासुस्ती भइरहेको अवस्थामा पछिल्लो वर्ष कोभिड पनि बहाना बनेको छ।

नारायणगढ-बुटवल सडक आयोजनाअन्तर्गत बुटवल–बर्दघाट सडकखण्ड हेर्दै आएका प्रमुख इन्जिनियर प्रदीप शाक्यले हालसम्म करिब ८ प्रतिशत काम भएको बताए।

सडकको कुल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउनेछ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १ दशमलव ५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो।

२२ साउन ०७९ भित्र निर्माण सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको ४२ महिनामा सक्ने गरी ०७५ चैतमा शिलान्यास भएको हो । तर, सडक विस्तारको काममा सरकारी निकायहरूबीच समन्वय हुँदा समयमै सुरु हुन सकेको थिएन । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने-बुटवल खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ अनुमान गरिएको छ। न्यूजकारखाना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.