धनसारले फर इभर नेपाल फोटो प्रतियोगिता गर्दै
काठमाडौं। धनसार डटकमले नेपालीहरुको मुख्य पर्व दशै तथा दिपावलीको अवसरमा फर इभर नेपाल फोटो प्रतियोगिता २०७८ को आयोजना गर्ने भएको छ । नेपालकै पहिलो फोटो, भिडियो, म्युजिक तथा ग्राफिक प्लेटफर्म धनसारले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत फोटो प्रतियोगिताको जानकारी दिएको हो ।
धनसार फर इभर नेपाल फोटो प्रतियोगितामा प्रकृति, संस्कृति र जीवनशैली विधाका फोटोपत्रकारहरु सहभागी हुन सक्ने छन् । प्रतियोगितामा सहभागी भइ प्रतिस्पर्धा गर्न हैशट्याग फर इभर अनिवार्य लेख्नु पर्ने र जेपिइजी फाइलको फोटो अपलोड गर्नुपर्ने धनसारले जनाएको छ । धनसारका संस्थापक बिनोद अधिकारीका अनुसार प्रकृति, संस्कृति र जीवनशैली विधाबाट तीन तीन जना गरी नौ जना फोटो पत्रकारलाई पुरस्कारका लागि छनोट गरिने छ।
प्रत्येक विधाको पुरस्कार प्रथम, द्वितीय र तृतीय क्रमश; तेत्तीस हजार, बाइस हजार र एघार हजार रहने छ । छनोट प्रक्रियामा ४० प्रतिशत नम्बर सार्वजनिक मत र ६० प्रतिशत मत निर्णायकबाट लिइने समेत संस्थापक अधिकारी बताए।
प्रतियोगिताको निर्णायक मण्डलका संयोजक वरिष्ठ फोटो पत्रकार विकास रौनियार, सदस्यहरुमा फोटो पत्रकार क्लवका अध्यक्ष श्रुति श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त, केपीएका अध्यक्ष दिगम्बर राजवंशी, फोटो पत्रकार विकास खतिवडा र म्युजिएम अफ नेपाली आर्टसका कार्यकारी निर्देशक राजन शाक्यरहनेछन् । निर्णायक मण्डलका संयोजक रौनियारले आफूहरुले व्यावसायिक र स्वतन्त्र रुपमा प्राप्त फोटोहरुलाई छनोट गरेर पुरस्कृत गरिने बताए ।
उक्त प्रतिस्पर्धामा सहभागी हुन चाहनेले २०७८ कार्तिक ३० गते रातको ११ः५९ बजे भित्रमा सहभागिता जनाइसक्नु पर्ने छ। उक्त मितिसम्म प्राप्त भएका फोटोहरु २०७८ मङ्सिर १ गते निर्णायक मण्डल र सार्वजनिक छनोटका खुला गरिने छ । यसरी प्राप्त फोटोहरुमध्ये हरेक विधाको नतिजा २०७८ पौष १५ गते सार्वजनिक गरिने ‘धनसार डट कम’ का संस्थापक अधिकारीले बताए।
फोटो प्रतियोगितामा भाग लिनका लागि https://www.dhansar.com/page/Forever-Nepal-Photo-Competition मा लग इन गर्नु पर्ने छ।







डिसी नेपाल








Facebook Comment