यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका युवाले हिरासतमै आत्महत्या गरे
काठमाडौं । महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकले हिरासतभित्रै आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा नरसिंह गाउँपालिका–५ का हकिव मियाँले आत्महत्या गरेका हुन्।
प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्रकुमार कार्कीले बताए । डिएसपी कार्कीका अनुसार इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेका हुन् । मृतका आफन्तहरुले भने हिरासतभित्र प्रहरीले हत्या गरेको आरोप लगाएका छन् ।
उनको हिरासतभित्र मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका थिए । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको डिएसपी कार्कीले बताए ।







डिसी नेपाल








Facebook Comment