मोतीपुर घटना : त्यो कारवाही नगरेको भए अझै ठूलो क्षति हुने थियो : प्रजिअ तिवारी

डिसी नेपाल
२६ असोज २०७८ १०:२०

काठमाडौं। गत चैत्रमा तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलले औद्योगिक क्षेत्र घोषणा गर्दा प्रतिकार गरेका स्थानीय र प्रहरीबीच झडपहुँदा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा चार जनाले ज्यान गुमाउनुपरेको छ।

स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरीका जवान पनि घाइते भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ऋषिराम तिवारीले जानकारी दिए।

डिसी नेपालसँग उनले सुनाएको कुरा उनकै शब्दमा :

विगतदेखि नै त्यो ठाउँमा समस्या थियो। स्थानीय प्रशासनले अवैध क्रियाकलाप नगर्न निर्देशन दिँदै आएको पनि थियो। त्यो हुँदा हुँदै पनि अतिक्रमण बढिरहेका कारण भदौ २८ स्थितिलाई नियन्त्रण गर्न चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा पनि गरेका थियौं।

निषेधित क्षेत्र घोषणा भइरहेका बेला पनि विभिन्न जिल्लाहरुबाट, असम्बिन्धित क्षेत्रबाट पनि ठूलो संख्यामा मानिसहरु आएर अतिक्रमण गर्ने प्रयासहरु भइरह्यो। खासगरी सरकारी जग्गामा टहराहरु बन्न थालेपछि सुरक्षा निकायहरु परिचालन गरेर त्यसलाई हटाउने काम पनि विगतदेखि गरिआएका थियौं। सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न परिचालित भएका थियौंं।

असोज २४ गते अस्थायी रुपमा सशस्त्र प्रहरी क्याम्प स्थापना गर्ने र त्यहाँ भएका टहराहरु हटाउने तयारी भइरहेको अवस्था थियो। त्यो अवस्थामा ठूलो संख्यामा जग्गा अतिक्रमण गर्नेहरुको भीड जम्मा भएर सुरक्षाकर्मी लक्षित ढुङ्गामुडाहरु प्राहर हुन पुग्यो। सुरक्षाकर्मीले आत्मरक्षाको लागि सामान्य बल पनि प्रयोग गर्‍यो।

सुरक्षाकर्मीले बल प्रयोग गर्नेबेलासम्म धेरै सुरक्षाकर्मी घाइते भइसकेका थिए। त्यसपछि अश्रुग्यास पनि सुरक्षाकर्मीले प्रयोग गरे। अश्रुग्यासले तितरवितर भएका अतिक्रमणकारीहरु पुनः भेला भएर सुरक्षाकर्मी लक्षित आक्रमण गर्न थाले। त्यो आक्रमणका बेला सुरक्षाकर्मीमाथि पेट्रोलबमसमेत प्रहार भएको थियो।

पेट्रोलबम नै प्रहार भएपछि सुरक्षाकर्मीले आत्मरक्षाका लागि हवाई फाइरको प्रयोग गर्‍यो। हवाइ फाइर भएपछि पनि अतिक्रमणकारीबाट निरन्तर प्रहार भएपछि गोली पनि चलाउनु पर्ने अवस्था सृजना भएको हो।

घाइते र मृतकहरुको ठेगानालाई आधार मान्ने हो भने, संचार माध्याममा आएका सूचनालाई हेर्नेहो भने धेरै जसो व्यक्तिहरु रुपन्देही बाहिरबाट आएको पाइन्छ। वास्तविक सुकुम्बासी हुन वा होइनन् भन्ने कुरा पहिचान गरेर थाहा हुन्छ।

वास्तविक सुकुम्बासी हुन भने पनि होइनन् भने पनि प्रदेश सरकारले बनाएको छानबिन समितिले छानबिन गरेपछिमात्र भन्न मिल्छ अहिले मिल्दैन। त्यसका बाबजुद पनि स्थानीय भन्दा बाहिरी जिल्लाहरुबाट प्रवेश गरेको देखिएको छ।

बाहिरबाट मानिसहरु आएर त्यसरी प्रशासन, सुरक्षाकर्मी लगायतमाथि जाइलाग्नुको कारण योजनाबद्ध तरिकाले संगठित भएर नै जग्गा कब्जा गर्न लागेको भन्ने बुझिन्छ। यसरी योजनाबद्ध तरिकाले बाहिरबाट आएर आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीसँग पनि बिकल्प रहेन।

हामीले सुरक्षाकर्मीलाई संयमित हुन भनिरहेका थियौँ। लामो समयसम्म त सुरक्षाकर्मीले आफू संयम भएर नै आक्रमणको प्रतिकार गर्नु भएको हो। तर, त्यो भन्दा ठूलो क्षति हुने अवस्था सिर्जना भएपछि सुरक्षाकर्मीको तर्फबाट गोली चलेको देखिन्छ।

यो सुरक्षाकर्मीको बाध्यात्मक अवस्था हो। यदि त्यो कारवाही नभएको भए सुरक्षाकर्मी तर्फपनि ठूलो असर पर्ने देखिन्छ। अरु जिल्लाहरुमा सुरक्षाकर्मी परिचालनको अवस्थालाई अध्ययन गर्ने हो भने पनि अन्तिम अवस्थामा मात्र त्यो कारवाहीमा सुरक्षाकर्मीहरु पुग्ने गरेका छन्।

मोतिपूर औधोगिक क्षेत्रमा कफ्र्यू जारी नै छ। हामीले जुन चार किल्ला तोकेर सूचना जारी गरेका छौं त्यो भित्र कफ्र्यू जारी राखेका छौं र अहिले स्थिति सामन्यकरण गर्ने तर्फ हाम्रो प्रयास पनि भइरहेको छ। हिजो र अस्ति दुई दिन सर्वदलीय बैठक बसेर समस्या समाधान गर्ने विषयमा छलफल पनि गरेको छ। त्यो बैठकहरुका कारण पनि अहिले अवस्था सामान्य हुँदै गएको छ।

विवाद आएको स्थानको केही तल्लो भागमा लामो समयदेखि बस्दै आएका र जग्गा धनी पूृर्जासमेत भएकाहरुलाई के गर्ने भन्ने विषयमा प्रदेश सरकारको समिति गठन भएर अध्यायन भइरहेको छ। हामीले पनि सुक्ष्म अनुसन्धान गरिरहेका छौं। आवश्यक्ता अनुसार अझै पनि थप सजगता अपनाउने तयारीमा छौं।

प्रजिअ अधिकारीसँग गरिएको कुराकानीमा आधारित

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *