भारत र अमेरिका छाडेर किन जाँदैछन् देउवा बेलायत ?

डिसी नेपाल
२ कार्तिक २०७८ १०:४१

काठमाडौं। वन तथा वातावरण मन्त्रीले जाने तयारी गरिरहेको विश्वसम्मेलनमा भाग लिन अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवा स्वयंले बेलायत जाने निर्णय गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनको भ्रमणबारे निर्णय गरेको छ। यो उनको पहिलो विदेश भ्रमण पनि हुने भएको छ।

यसअघि उनी सो कार्यक्रममा नजाने भन्दै वन तथा वातावरण मन्त्री रामसहाय यादवलाई नोभेम्बर १ र दुईमा बेलायतको ग्लास्गोमा हुने क्लाइमेट चेन्जसम्बन्धी विश्व सम्मेलनमा जाने तयारी गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए।

तर अन्तिम अवस्थामा आएर देउवाले आफ्नो मन परिवर्तन गरे र आफैं जाने भए। त्यसमा पनि बेलायतमा नयाँ राजदूत नियुक्त नभएको र राजदूत लोकदर्शन रेग्मीलाई औपचारिकरुपले नै फिर्ता बोलाइसकेको अवस्थामा नयाँ राजदूत नपठाई प्रधानमन्त्री देउवाले बेलायतको विश्व सम्मेलनमा भाग लिन बेलायत जाने निर्णय गरेका छन्। किन देउवाले यस्तो निर्णय लिए?

प्रधानमन्त्रीका रुपमा नियुक्ति पाएपछि नेपालका प्रधानमन्त्रीहरु कुनै न कुनै रुपमा भारतकै भ्रमण गरेर विदेश भ्रमणको सुरुवात गर्ने गर्छन्। विगतका केही प्रधानमन्त्रीहरुले यो परम्परालाई तोड्ने प्रयास पनि गरेका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट प्रधानमन्त्री बन्दा चीनको भ्रमण गरेर विदेश भ्रमणको सुरुवात गरेका थिए जसमा छिमेकी मुलुक भारतले ठूलो चित्त दुखाइसमेत गरेको थियो। भारतलाई छाडेर चीन जाने उनको निर्णयप्रति सशंकित हुँदै भारतले त्यही बेलादेखि प्रचण्डलाई सत्ताच्युत गर्ने अभियान चलाएको थियो र छोटो समयमै उनी सत्ताच्युत हुन पुगेका थिए सेनापतिकाण्ड लागेर।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि पहिलोपल्ट भारत भ्रमण गर्नै पर्ने भारतीय अपेक्षा र परम्परालाई तोडेका थिए। देउवाको हालको बेलायत भ्रमणले पनि पहिलोपल्ट भारत भ्रमण गर्नैपर्ने भन्ने भारतीय चाहना र दवावलाई तोड्ने भएको छ।

प्रधानमन्त्री नियुक्ति र शपथ लगत्तै देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वधाइ दिँदै उपयुक्त समयमा भारत भ्रमणको निम्तो भने दिइसकेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री देउवा सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा संबोधन गर्न आउने सोचाइ र तयारीमा थिए।

न्यूयोर्क आउँदा अमेरिकी राष्ट्रपति जो वाइडेन वा उपराष्ट्रपति कमला ह्यारिसमध्ये दुबै वा एकजनासँग भेट गर्न सकिन्छ कि भन्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि प्रधानमन्त्री देउवाले न्यूयोर्कको कार्यक्रममा उपस्थिति जनाएनन र नियुक्ति भएकै भोलिपल्ट परराष्ट्र मन्त्री नारायण खड्कालाई न्यूयोर्क पठाएका थिए।

देउवाले अमेरिकी राष्ट्रपतिसँगको भेटघाटका लागि बेलायतको ग्लास्गो सम्मेलनमा सम्भव हुन्छ कि हुन्न भन्ने बुझ्न लगाएको, शुरुमा सम्भव नहुने भन्ने जानकारी आएपछि आफू नगई मन्त्री यादवलाई पठाउने तयारी गरेको भए पनि पछि न्यूयोर्कमा सम्भव नभएको अमेरिकी राष्ट्रपतिसँगको भेटघाट युएनको क्लाइमेटसम्बन्धी विश्वसम्मेलनका बेला बेलायतको ग्लास्गोम सम्भव हुन सक्ने जानकारी आएपछि आफैं जाने निर्णय गराएको बताइएको छ।

हिमालमा हिउ पग्लिने क्रम ज्यादै उच्च भएको र नेपाल हिमालै हिमालको मुलुक भएकाले वातावरणीय परिवर्तनको पहिलो र सिधा असर नेपाललाई पर्छ। त्यसैले वातावरणीय परिवर्तनको मुद्धा नेपालले हुनसक्नेसम्मका सबै अन्तर्राष्ट्रिय फोरमहरुमा उठाउनु मुलुकको हितमा हुन्छ नै।

त्यसमा पनि मुलुककै प्रधानमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक उठाउनुले विश्वका धनी राष्ट्रहरुबाट भइरहेको बातावरणीय विनासलाई कम गर्न र वातावरणको संरक्षणमा धनी राष्टहरुको लागनी बढाउन केही मद्धत पुग्न पनि सक्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *