भारतीय सेनाका जर्नेललाई काठमाडौंमा नेपाली विज्ञको प्रशिक्षण

डिसी नेपाल
३ कार्तिक २०७८ ११:०८

काठमाडौं। भारतीय सेनाका २० जना जर्नेलहरुलाई काठमाडौंमा नेपाली रक्षा विशेषज्ञहरुले प्रशिक्षण दिएका छन्। भारतीय सेनाको नेशनल डिफेन्स कोर्स(एनडिसी) मा संलग्न भएका ती सैनिक जर्नेलहरुका साथ भारतीय सेनाको रियर एडमिरल(तीन तारे जर्नेल) धिरेन भिगसमेत आएका छन्।

यो टोलीमा भुटान, श्रीलंका, अष्ट्रेलिया र माल्दिभ्सका सैनिक उच्चअधिकृतहरु पनि शिक्षार्थीका रुपमा संलग्न छन्। विदेशीसहित यो टोलीमा ३९ सैनिक अधिकृतहरु संलग्न छन्।

असोज ३१ गते नेपाल आइपुगेको भारतीयसहितका सैनिक जर्नेलहरुको सो टोलीलाई कात्तिक १ गते सोमबार नेपालका तीनजना रक्षा विशेषज्ञहरुले नेपाल भारत सैन्य सम्बन्ध, दक्षिण एशियाली शक्ति सन्तुलन, नेपालको सुरक्षा प्राथमिकताजस्ता विषयहरुमा पढाएका थिए।

भारतीय दूतावासको सभाहल, लैनचौरमा भएको सो कक्षामा रक्षा मामिला विशेषज्ञ चिरनजंग थापा, नेपाली सेनाका अवकाश प्राप्त उपरथी   विनोज बस्न्यात र नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी डा.उमेश भट्टराईले प्रवचन दिएका थिए।

उमेशले नेपालको रणनीतिक प्राथमिकताबारे प्रशिक्षण दिएका थिए भने पूर्वउपरथी बस्न्यातले क्षेत्रीय भूराजनीतिक अवस्थाका बारेमा र थापाले आतंकवादप्रति नेपालको धारणाका बारेमा प्रशिक्षण दिएका थिए।

सो कार्यक्रमका विषयमा डिसी नेपाललाई जानकारी दिँदै पूर्व जर्नेल बस्न्यातले आफूहरुले अन्तर्राष्ट्रिय र क्षेत्रीय भू–राजनीतिक अवस्थाका विषयमा प्रवचन दिएको बताए।  टोली नेता भिगले पूर्वजर्नेल बस्न्यातलाई चाणक्यको कौटिल्य नामक पुस्तक उपहारसमेत दिएका थिए।

समाचारअनुसार, कक्षा सकिएपछि भारतीय राजदूतले सैनिक जर्नेलहरुको सम्मानमा सोल्टी होटलमा विशेष भोजको आयोजना गरेका थिए। सो भोजमा रक्षामन्त्री मिनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वसेनापतिहरु प्रज्वल्लसमशेर जवरा,प्यारजंग थापा, गौरबसमेशर राणा र राजेन्द्र क्षेत्री र नेपाली सेनाका केही जर्नेलहरु एवं भारतीय दूतावासका उच्चअधिकारीको उपस्थिति थियो।

भारतीय जर्नेलहरुको टोलीले कात्तिक २ गते मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डाको भ्रमण पनि गरेको छ। भारतीय सेनाका तीनतारे जर्नेल धिरेन र प्रधानसेनापति शर्माका बीच शिष्टाचार भेटवार्ता पनि भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। भारतीय जर्नेल टोलीलाई नेपाली सेनाको तर्फबाट नेपाली सेनाबारे प्रस्तुतिकरणसमेत दिइएको थियो।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार, सो टोलीले रक्षामन्त्री रिजाल, अर्थमन्त्री जनार्दन शर्मा, परराष्टमन्त्री नारायण खड्कासँग पनि हिजै भेटको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *