अख्तियारलागयतका संवैधानिक नियुक्ति खारेज गर्ने प्रचण्डको प्रस्ताव, देउवा अलमलमा

डिसी नेपाल
४ कार्तिक २०७८ १०:०६

काठमाडौं। नेपालीहरुको महान चाड दसैं सकिएसँगै राजनीतिक घटनाक्रम विकास हुन थालेका छन्। बडा दसैंको अन्तिम दिन बुधबार साँझ सत्ता गठबन्धनका नेताहरुबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो।

उक्त छलफल मुलुकभर आएको बाढी पहिरोले भएको जनधनको क्षति भन्दा बढी राजनीतिक विषयमा केन्द्रित भएको थियो। स्रोतका अनुसार उक्त छलफलमा माओवादी अध्यक्ष प्रचण्डले ओली सरकारले संसदीय प्रक्रिया पूरा नगरी गरेका संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने प्रस्ताव गरेका थिए।

‘प्रधानमन्त्री देउवालाई ओली सरकारले संसदीय प्रक्रिया पूरा नगरी गरेका संवैधानिक नियुक्ति खारेज गर्नुपर्ने प्रस्ताव प्रचण्डजीले गर्नु भएको थियो,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘तर प्रधानमन्त्रीजीले अहिले संवैधानिक नियुक्ती खारेज गरेपनि अदालतले त्यसलाई उल्ट्याउनसक्नेतर्फ सचेत गराउनु भयो।’

तर प्रचण्डले अदालतलाई कन्भिन्स गर्ने जिम्मा आफ्नो हुने भन्दै अख्तियारलगायतका संवैधानिक निकायमा ओली सरकारले गरेका नियुक्ती खारेज गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

तीन दलका नेताको छलफलपछि प्रचण्डले सिधै बालुवाटारमै रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेरलाई भेट्न एक्लै पुगेका थिए। सुरक्षा स्रोतका अनुसार तीन दलको बैठक सकिए लगत्तै प्रधानन्यायाधीशको निवास पुगेका प्रचण्ड करिव २५ मिनेट पनि बाहिरिएका थिए।

प्रधानन्यायाधीश र प्रचण्डबीचको गोप्य भेटमा के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक भएको छैन। तीन दलका नेताको छलफलमा अदालतलाई आफूले कन्भिन्स गर्ने बताएका प्रचण्ड बैठक लगत्तै प्रधानन्यायाधीशको निसावमा छिर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा ‘जुगल’ ले तीन दलका शीर्ष नेताबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएपनि प्रधानन्यायीशलाई भेटेको कुरामा सत्यता नभएको बताए।

‘तीन दलका शीर्ष नेताहरु मुलुकको राजनीतिक अवस्था र मुलुकभर आएको वाढी बहिरोलगायतका विषयमा छलफल भएको हो,’ सापकोटाले भने, ‘तर अध्यक्ष प्रचण्ड प्रधानन्यायाधीशको निवासमा छिरेको भन्ने कुरा प्रोपोगाण्डा मात्रै हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *