प्रदेश एक : सत्ता गठबन्धनमा किचलो, कांग्रेसले मुख्यमन्त्री पाउला?

सम्भव सिंह ठकुरी
१० कार्तिक २०७८ ७:३५

काठमाडौं। प्रदेश एकमा यतीबेला सत्तारुढ गठबन्धनबीच पुनःसत्ताको लडाईं सुरु भएको छ। कात्तिक सात गते मुख्यमन्त्री भीम आर्चायले विश्वासको मत लिने कार्यतालिका भएपनि सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले संसद् बैठक स्थगित गर्न माग गरे र सोही अनुसार स्थगित पनि भयो।

कांग्रेसले प्रदेश अधिवेशन स्थगित गर्नुको कारण प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको निरीक्षण गर्न प्रदेश एकको विभिन्न जिल्लाहरुको भ्रमण गर्ने सूची भएको र सांसदहरु त्यतै ब्यस्त हुने बताएपनि सत्तारुढ गठबन्धनबीच सत्ताको नयाँ किचलो सुरु भएको छ।

सो प्रदेशमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने केन्द्रबाट सहमति भएपनि प्रदेशका नेताहरुले वागमती प्रदेशको जस्तै आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्नुपर्ने कांग्रेसको अडान रहेको स्रोतले बताएको छ।

कुल ९१ सांसद रहेको प्रदेश एकमा सत्तारुढ एमालेको सभामुख सहित ४१ रहेको छ। गठबन्धनबाट कांग्रेसको २१,माओवादी (केन्द्र)को १५ एकीकृत समाजवादीको १०,जसपाको ३ र मञ्चको १ गरी ५० सांसद रहेको छ। यो भनेको प्रष्ट बहुमत हो।

यसरी गठबन्धनको प्रष्ट बहुमत भएको सो प्रदेशमा आइतबार नै प्रदेशले नयाँ मुख्यमन्त्री पाउनु पर्ने हो। तर कांग्रेसको तर्फबाट राजिव कोइरालाले पनि मुख्यमन्त्री बन्ने लाइनमा रहेपछि सो प्रदेशको राजनीति थप किचलो बनेको हो।

स्रोतका अनुसार केन्द्रीय तहबाट कांग्रेसले एकीकृत समाजवादीलाई प्रदेश एक र बागमती प्रदेशको मुख्यमन्त्री दिने सहमति भएको र केन्द्रीय सरकारको मन्त्रिपरिषदमा एकीकृत समाजवादीको भागमा कम मन्त्रालय परेको दावी गरेका छन्। तर प्रदेश एकका कांग्रेसले आफूहरुले पनि मुख्यमन्त्री पाउनु पर्ने अडान राखेपछि गठबन्धनबीच दरार उत्पन्न हुने हो कि भन्ने आशंका उब्जिएको छ।

कांग्रेस संसदीय दलका नेता राजिव कोइराला पनि आइबारको संसद बैठक स्थगित हुनुको प्रमुख कारण प्रधानमन्त्री सो दिन बाढी पहिरो पीडितको लागि पूर्व भ्रमण रहेकाले कांग्रेस सांसद पनि निरीक्षणमा जाने भएकाले स्थगनको माग गरेको बताउँछन्।

उनले भने, ‘कांग्रेसले कात्तिक १५ गतेसम्म संसद बैठक स्थगित गर्न माग गरेको थिएन। तर सत्तारुढ एमालेले सत्ताको आडमा लामो समयको ग्याप राखेर राजनीतिक चलखेल गर्न खोजिरहेको छ।’

कांग्रेसले मुख्यमन्त्रीको दावी गरेको छ, कि छैन? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘प्रमुख प्रतिपक्ष भएकाले स्वभाविक रुपमा कांग्रेसको दावी रहन्छ। तर मुख्यमन्त्री कांग्रेस कै हुनुपर्छ भनेर कांग्रेसले जिकिर गरेको छैन। यो विषयमा हामीले भन्दापनि केन्द्रीय तहबाट सहमति हुन्छ। र सोही अनुसार अहिले केन्द्रका नेताहरुले चासोको रुपमा लिनुभएको छ। छलफल चलिरहेको छ।’

एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईपनि आइतबार कांग्रेसले संसद बैठक स्थगितको माग गर्नुको कारण प्रधानमन्त्री पूर्व आउने कार्यतालिका भएको सो दिन मात्र स्थगितको माग गरेको बताउँछन्। तर एमालेले आफ्नै सभामुख भएकाले गठबन्धनको समस्या भनेर १५ गतेसम्म स्थगित गरेर आफू अनूकुलको राजनीति गर्न बाहिर अतिरञ्जित गरेको आरोप लगाए।

मुख्यमन्त्रीको विषयमा गठबन्धनबीच किलचो भएको भन्ने कुराहरु पनि धेरै हल्ला भएको उनको तर्क रहेको छ। ‘मुख्यमन्त्रीको विषयमा पनि केन्द्रको सहमति अनुसार यो प्रदेशमा हामीलाई दिने सहमति भएको छ। र कांग्रेसले पनि यहाँ आफूलेपनि पाउनै पर्छ भनेर दावी गरेको छैन। तर गठबन्धनबाट बन्ने सरकार भएकाले केन्द्रबाट टुङ्गो लाग्छ छलफल भइरहेको छ,’उनले भने।

राईले डिसी नेपालसंग कुराकानी गर्दै अगाडि थपे, ‘बागमतीमा पनि आलोपालाको सरकार छ। यहाँपनि आलोपालो भयो भने गठबन्धनबाट हामीले उचित जिम्मेवारी नपाए जस्तो हुन्छ। त्यसकारण आलोपालोको सरकार भन्ने कुराहरु पनि बाहिर प्रचार भएजस्तो सहमति बनेको छैन। र गठबन्धनमा कुनैपनि समस्या छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *