एमाले महाधिवेशन : सर्वसम्मतको नेतृत्व चयनको प्रयास जारी, सबैलाई समेट्न ओलीलाई सकस

डिसी नेपाल
११ मंसिर २०७८ १७:४८

चितवन। नेकपा एमालेको जारी दशौं महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुले पहल जारी राखेका छन्। शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनले पारित गरेको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाउने, पोलिटब्यूरो ब्युँताउने र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव पारित गरेपछि नेताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास जारी राखेका हुन्।

तर अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका भीम रावलले आफू पछि नहट्ने अडान लिएपछि सहमतिको प्रयास सफल हुन सकेको छैन। अध्यक्ष केपी शर्मा ओली महाधिवेशनमा आफू सर्वसम्मत अध्यक्ष बन्न चाहन्छन्। त्यसका लागि रावल बाधक बनेपछि सहमतिको प्रयासले सार्थकता पाउन नसकेको हो। अन्य पद मिलानमा भने खासै समस्या नभएको ओली निकट नेताहरुले बताएका छन्।

हालसम्म उपमहासचिवमा तीन जनाले दाबी प्रस्तुत गरेका छन्। प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङले उपमहासचिवमा दाबी गरेका छन्।
यसैगरी घनश्याम भुसालले उपसभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। अन्य नेताहरुले भने पदाधिकारीमा उम्मेद्वारी घोषणा गरिसकेका छैनन्। स्रोतका अनुसार रावलले वरिष्ठ उपाध्यक्ष दिएर मनाउने कोसिस भइरहेको छ। तर रावलले आफू अघि बढिसकेको भन्दै अध्यक्षमा प्रतिष्पर्धा गर्ने अडान राखेका छन्।

यसैगरी उपाध्यक्षका आकांक्षी धेरै भएका कारण व्यवस्थापनमा समस्या भएको छ। अध्यक्ष ओलीले शनिबार दिउँसो स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिँदै उपाध्यक्षमा दाबी नगर्न आग्रह गरेका छन्। ओलीले आफू निकट नेताहरुलाई सहयोगको आग्रह गर्दै नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने आवश्वास दिँदै उपाध्यक्षमा दाबी नगर्न आग्रह गरेका हुन्।

ओलीले शाक्यलाई यसअघि मुख्यमन्त्री बनाएको उल्लख गर्दै यो पटक आफूलाई सहयोग गर्न आग्रह गरेको ओली निकट स्रोतले जनाएको छ। पदाधिकारीको संख्या थप गर्दासमेत आकांक्षीको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दाबी गरेका छन्।

ओलीले पौडेललाई उपाध्यक्षमा व्यावस्थापन गर्ने तयारी गरेपनि उनको रुची महासचिवमै रहेको बताइएकोे छ। सर्वसम्मतको प्रयास जारी राख्दा एमालेको बन्दसत्र निर्धारित समय भन्दा झण्डै पाँच घण्टा ढिला सुरु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *