राप्रपामा मनाेनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताकाे विवाद टुंग्याएकाे राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ।
निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसाे १ बजेसम्म मनाेनयन दर्ताकाे समयसीमा ताेकिएकाे छ। मनाेनयनकाे नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए।
महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन्। आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेकाे नाम दुबै प्यानलमा छ।
थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन्।
लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्नेछन्।
अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन्।







डिसी नेपाल








Facebook Comment