सापटी रकमको दोब्बर फिर्ता पाइने लोभमा करोडौं ठगिमा नेपाली नागरिक

डिसी नेपाल
१७ मंसिर २०७८ १५:०३
3.1k
Shares

काठमाडौं । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिकले करोडौं रकम गुमाउन पुगेका छन् । परिवार र नातागोतामा समेत यसरी सापटी रकम दोब्बर दिन्छु भन्दा पत्याउन गाह्रो हुने अवस्थामा चिन्दै नचिनिएका र कहिलै भेटघाट नभएका मान्छेबाटै नेपालीहरु ठगिमा परेका हुन् ।

यस्तै घटनामा धेरै नेपाली एक करोड २२ लाख रुपैयाँ ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ । यसरी ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ समेत परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौँ महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् ।

उनीहरुलाई विभिन्न मितिमा काठमाडौँबाट पक्राउ गरी कानूनी कारबाही थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने, आफू विदेशी नागरिक प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेसिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।

ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख, भुजेलको नामको नविल बैंकको खातामा नगद नौ लाख ५० हजार र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको खुल्न आएको छ ।

उनीहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।

यसैबीच रक्तचन्दनको तेलको अवैध कारोबार गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ । बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट ४४ लिटर रक्तचन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा काठमाडौँ बालाजु बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–४ का २७ वर्षीय रामबहादुर खत्री र काठमाडौँ बुढानीलकण्ठ–५ बस्ने कास्कीको लेखनाथका ४० वर्षीय गङ्गाबहादुर पुन रहेका छन् ।

रक्तचन्दनको तेल प्रतिलिटर पाँच लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साथै, उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.