१० वटा घडियाल गोही प्राकृतिक बासस्थानमा छाडियो

डिसी नेपाल
१० पुष २०८२ १६:०३
68
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरी १० ओटा घडियाल गोहीका बच्चा बबई नदीमा छाडेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माको उपस्थितीमा बबई नदीमा १० ओटा गोहीका बच्चा प्राकृतिक बासस्थानमा छाडिएको हो।

निकुञ्जको हाताभित्र हुर्किएका ४ वर्ष उमेरका ५ ओटा भाले र ५ ओटा पोथी घडियाल गोही प्राकृतिक बासस्थानमा छाडिएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम र जबरजंग गणका निमित्त गणपति मुकुन्द न्यौपानेलगायत निकुञ्जका कर्मचारीहरू गोहीको बच्चा छाड्ने कार्यक्रममा सहभागी भएका थिए।

गत असोज ३० गतेपनि गोही प्रजनन् केन्द्रमा हुर्किएका पाँच भाले र पाँच पोथी गरी १० ओटा घडियाल गोही निकुञ्ज भित्र रहेको खौराहा खोलामा छोडिएको थियो। बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले अझैपनि करिब दुई सय गोहीका बच्चा प्रजनन् केन्द्रमा हुर्किरहेको बतााए। ०३९ सालमा स्थापना गरिएको प्रजनन केन्द्रमा ०७२ सालदेखि प्रजनन प्रक्रियाको सुरुवात भएको थियो।

०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो। यस अघि बर्दियाको बबई नदीमा १३ र बाँकेको राप्ती नदीमा १० र खौराहा खोलामा १० गरी जम्मा ३३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो। प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन्।

घडियाल गोही स्वच्छ पानी र ताजा माछा खाने संरक्षित सूचीमा रहेको जीव हो। गोहीको बासस्थान व्यवस्थापन गर्ने, चोरी शिकार नियन्त्रण गर्ने खालका कामहरू भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ। बर्दियाको कर्णाली र बबई नदीमा घडियाल गोही पाइन्छ। सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *