३३ किलो सुनकाण्डका अभियुक्त अग्रवाललाई दुबईमा पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका झापा साबिक शिवगंज गाबिस–१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाल पक्राउ परेका हुन् । इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका अग्रवाललाई दुवई सरकारले नेपाल पठाएपछि प्रहरी विमानस्थलबाट नियन्त्रणमा लिई अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखेको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहभागी भएको इन्टरपोलको महासभामा उनले अग्रवालसहित अन्य फरार अभियुक्तहरुलाई डिपोर्ट गर्ने विषयमा कुराकानी गरेका थिए । सोही कुराकानीको आधारमा दुवई प्रहरीले अग्रवाललाई पक्राउ गरी नेपाल पठाएको हो ।
आइजीपी थापा विहिबार इन्टरपोलको महासभामा सहभागी भएर नेपाल फर्केका थिए । उनी नेपाल आएको चार दिनमै दुबई प्रहरीले अग्रवाललाई नेपाल डिपोर्ट गरेको हो । सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका प्रतिवादीहरु मध्येका अग्रवाललाई दुबई प्रहरीले नेपाल डिपोर्ट गरेको सूचना नेपाल प्रहरीलाई दिएको थियो ।
उनलाई सोमबार जिल्ला अदालत मोरङमा पेश गरिने नेपाल प्रहरीले जनाएको छ । ३३ किलो सुन प्रहरणमा गोरे भनिने चुडामणी उप्रेती लगायतका अभियुक्तहरु हाल जेल चलान भएका छन् ।







डिसी नेपाल








Facebook Comment