सिजी ग्रुपको सोलार आयोजनाको अनुमतिपत्र खारेज

डिसी नेपाल
२० मंसिर २०७८ ११:१८

काठमाडाैं। चौधरी ग्रुपले पाएको १२० मेगावाट उत्पादन क्षमता बराबरको सोलार आयोजनाको लाइसेन्स खारेज भएको छ। महोत्तरीमा निर्माण प्रस्ताव गरिएको सोलार प्रोजेक्ट आयोजनाको सर्वेक्षण अनुमतिपत्र नवीकरण नगरेको भन्दै लाईसेन्स नै खारेज गरिएको विद्युत विकास विभागले जनाएको छ।

विभागले दिएको जानकारी अनुसार कम्पनीले अनुमतिपत्र नवीकरणको लागि तोकिएको समयमा नवीकरणको लागि आवेदन नदिएको र कोभिडको कारण थप गरिएको समयमा पनि निवेदन नआएपछि लाईसेन्स रद्द गरिएको हो।

‘सौर्य पीभी विद्युत् आयोजना, महोत्तरी ९१२०० मेगावाटको विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्रको बहाल अवधिभित्र एवं कोभिडका कारण प्रदान भएको २०७८ असार मसान्तसम्म पनि नवीकरणका लागि (वा उत्पादन अनुमतिपत्रका लागि)  कुनै निवेदन प्राप्त नभएकाले उक्त आयोजनाको सर्वेक्षण अनुमतिपत्र रद्द गरिएको छ,’ विभागले गरेको निर्णयमा भनिएको छ।

चौधरी ग्रुप र क्यानाडेली कम्पनी स्काई पावरले जोइन्ट भेन्चरमा लगानी गर्ने भन्दै आयोजना विकासका लागि चौधरी ग्रुपले प्रदेश २ सँग पनि लगानी सम्मेलनका क्रममा सम्झौता गरेको थियो। चौधरी ग्रुपले प्रदेश २ मा मात्र २ सय मेगावाट उत्पादन क्षमता बराबरका तीन वटा सौर्य आयोजनामा लगानी गर्ने गरी सम्झौता गरेको थियो।

यसमध्ये एउटा आयोजना महोत्तरीमा बनाउने भनिएको थियो। महोत्तरीको मेघनाथ, पशुपतिनगर, गोरन्ना र हातीसरुवामा गरेर कुल १२० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने गरी भएको सम्झौता नवीकरण नगरेरै सकिएको हो। चौधरी ग्रुपले पर्सा जिल्लामा पनि सोलार प्लान्ट बनाउनका लागि सर्वेक्षण अनुमतिपत्र लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *