भुपेन्द्र बडुवाल हत्या प्रकरणः ९ जनालाई पुर्पक्षका लागि थुनामा, तीन जना धरौटीमा रिहा
काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्याको अभियोगमा पक्राउ परेका ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । गत कात्तिक २३ गते टीकापुरको लम्कीचुहामा बडुवालको हत्यामा पक्राउ परेका १२ मध्ये ९ जनालाई कैलाली जिल्ला अदालतले थुनामा पठाएको हो भने अन्य तीन जना धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
खुकुरी र चक्कु प्रहार गरेर बडुवालको हत्या गरिएको प्रहरीले जनाएको थियो । उनको हत्यामा संलग्न मध्य पक्राउ परेका १२ जनामा थुनछेक बहसपछि शुक्रबार कैलाली जिल्ला अदालतको ४ नम्बर इजलाशले ९ जनालाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।
लम्कीचुहा नगरपालिका, ३ का २३ वर्षीय महेश रावल, २० वर्षीय दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्की चुहा नगरपालिका १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टिकापुर नगरपालिका १ वस्ने २३ वर्षीय प्रबिण रिमाल, बर्दिया जिल्ला राजपुर नगरपालिका, ७ घर भई टिकापुर नगरपालिका १ बस्ने २१ वर्षीय रोहित आले र टिकापुर नगरपालिका १ का २५ वर्षीय सोहन शाहलाई अदालतको आदेशपछि कारागार चलान गरिएको छ ।
लम्कीचुहा नगरपालिका ५ का २८ वर्षीय बिकास खड्का, बर्दगोरिया गाउँपालिका, २ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दगोरिया ठाकुरबाबा, ३ गोदानका २६ वर्षीय सन्तोष भनिने सविन जंग शाहीलाई धरौटीमा रिहा गरिएको छ । कुँवर र शाहीबाट १ लाख ५० हजार र खड्काबाट ७५ हजार धरौटी लिइएको छ ।
रिहा गरिएकाहरुलाई पनि प्रहरीले जन्मकैदको माग गरेको थियो । बडुवालको हत्यामा संलग्न मुख्य नाइके नविन रावलसहित ९ जना अझैं फरार रहेको प्रहरीले बताएको छ । चिरन्जिवी जंग शाही, हिमाल शाही, जयन्द्र शाह, विकास शेरचन, रोशनबहादुर शाही र अशोक रावल फरार रहेको प्रहरीले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment