सुन्तला उत्पादनमा गिरावट

डिसी नेपाल
४ पुष २०७८ २२:००

काठमाडौं । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा गिरावट आएको छ । टिपेर बजार पठाउने तयारीमा रहेका किसानलाई सुन्तलामा देखिएको औसे किराको प्रकोपले निराश बनाएको छ ।

सुन्तला बेचेर मनग्य आम्दानी गर्ने किसानलाई सुन्तलामा फैलिएको औसा किराको प्रकोपले निराश बनाएको छ । पर्याप्त सुन्तला उत्पादन हुने बागलुङ नगरपालिका–८ सिगानाका रामबहादुर खड्काको बगैँचामा अहिले औसा किराको प्रकोपले सुन्तला झरिरहेका छन् । खड्काले गत वर्ष सुन्तला बिक्री गरेर रु दुई लाख ५० हजार भित्र्याएका थिए। अहिले औसा किराको प्रकोपले सुन्तला धमाधम झर्न थालेको खड्काले बताए ।

“गत वर्ष सुन्तला बिक्री गरेर रु दुई लाख ५० हजार हात पारेको थिएँ, अहिले रु तीन लाख पार्ने लक्ष्य छ, तर औसा किराले समस्या भएको छ,” खड्काले भने, “अहिले गतवर्षको तुलनामा झन्डै रु एक लाख घाटा पर्ने अवस्था आएको छ, औसा एक बगैँचाबाट अर्कोमा सर्ने अवस्था छ ।” खड्काको बगैँचामा अहिले २२० सुन्तलाका बोट छन् । कृषि कार्यालयबाट समयमै सल्लाह सुझाव नपाउँदा र रोग लागिसकेपछि बल्ल प्राविधिक आउने भएकाले किसान निराश भएका छन् ।

अहिले पोखरा र चितवनबाट सुन्तला खरिद गर्न व्यापारी सुन्तला बगानमा आए पनि मूल्य नपाएको र रोगको प्रकोपका कारण बिक्री नगरिएको सिगानाका कृषक शिवकुमार खड्काले बताए । प्रतिकिलो रु ५० का दरले सुन्तला खरिद गर्न व्यापारी आउने गरेका भए पनि बिक्री नगरेको खड्काको भनाइ छ ।
किसानको गुनासोपछि वडा कार्यालयको संयोजन तथा कृषि ज्ञान केन्द्रको आयोजनामा बाली परीक्षण शिविर आयोजना गरिएको बागलुङ नगरपालिका–८ सिगाना वडाध्यक्ष राजन जीसीले जानकारी दिए ।

“सिगाना सुन्तलाको पकेट क्षेत्र हो, यहाँका किसानलाई सुन्तलाबाटै आर्थिक विकासका लागि ५० प्रतिशत अनुदानमा विरुवा वितरण गर्दै आएका छौँ, अहिले वार्षिक रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने गरेको छ” उाले भने, “औसा किराको प्रकोपले यसवर्ष सिगानामा सुन्तलाको उत्पादनमा केही गिरावट आउने देखियो ।” गतवर्ष औसा किराको प्रकोप रहे पनि अहिले बढेर गएको किसानको गुनासो छ । सुन्तलाको पकेट क्षेत्र बिहुँ, भकुण्डे, तित्याङलगायत क्षेत्रमा समेत औसाको प्रकोप देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *