अध्यक्षमा पराजित भएपछि ‘तिलमिलाएका’ कमल थापा नयाँ दल खोल्ने तयारीमा!

सम्भव सिंह ठकुरी
२२ पुष २०७८ १३:२७

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गत महिना भएको राष्ट्रिय एकता महाधिवेशनमा कमल थापाको पराजयले निकै चर्चा पायो। थापाकै चेलो मानिएको राजेन्द्र लिङ्देनले करिव २ सय मतान्तरले उनलाई पराजित गरे।

लिङ्देनको विजयीले जति चर्चा पायो त्यतिनै थापाको पराजयले चर्चा पायो। त्यो भन्दाधेरै थापाको आरोप र प्रतिक्रियाले चर्चा पाइरहेको छ। थापाले निर्मल निवास अथवा पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षप भएका कारण आफू अध्यक्षमा पराजित भएको प्रतिक्रिया दिँदै आएका छन्।

त्यतिमात्र नभएर थापाले लिङ्देन निर्वाचित भएयताको केन्द्रीय समितिको बैठकहरु पनि बहिस्कार गर्दै आएका छन्। थापाको रिस त्यतिमा मात्र सीमित भएको छैन। अध्यक्ष लिङदेनले केन्द्रीय सदस्य मनोनयन गरेको निर्णयमापनि आपत्ति जनाएका छन्।

‘राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पुर्वाग्रहीरुपमा गरिएको मनोनयनको भत्सर्ना गर्दछु। ३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको छ,’ थापाले भनेका छन्, ‘मधेसी समूदाय,दलित,महिला र काठमाडौंलाई उपेक्षा गरिएको छ। जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दुर्भाग्यपूर्ण छ।’

लिङ्देन समूहले गतसाता राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा सहितको नेता कार्यकर्ताले पार्टीविधान विपरित गतिविधि गरेको कारण देखाउँदै गरेको कारबाहीमा पनि थापाले खेद प्रकट गरेका छन्।

२०४७ सालको राजनीतिक परिवर्तन पश्चात कम्युनिष्ट पार्टीपछि सबैभन्दा धेरैपटक विभाजन भएको पार्टी राप्रपा फेरि विभाजनको संघारमा पुगेको थापा निकट नेताहरुको अभिव्यक्तिले बुझिन्छ।

शक्ति र सत्ताको लागि जस्तोसुकै सौदावाजी गर्नपनि तयार हुने नेताको रुपमा आरोप लाग्ने गरेका थापा राप्रपा स्थापना कालदेखि नै पार्टी शक्तिमा रहेका थिए। लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका थापाको पार्टीभित्र पहिलो पटक पराजित भएपछि धेरै छटपटी भएको र समयक्रममा आफै साम्य हुने लिङ्देन निकट एक नेता बताउँछन्।

तर थापाले पछिल्लो समय लिङ्देनसँग भन्दापनि पूर्वराजासँग पोखिएको आक्रोशले थापाले राजसंस्थाको एजेण्डा छाडेर नयाँ दल दर्ता गर्नसक्ने चर्चा राप्रपा बृत्तमा नचलेकोपनि हैन। थापाले पटक,पटक निर्मल निवासको हस्तक्षेप भएकाले छानबिन हुनुपर्ने माग गर्दै आएका छन्। तर राजेन्द्र लिङदेन भने,डिसी नेपालसंग कुराकानी गर्नेक्रममा थापाले त्यस्तो खाले प्रतिक्रिया दिनु आममहाधिवेशन प्रतिनिधिको अपमान गरेको बताएका छन्।

डिसी नेपालसँगको अन्तर्वार्तामा लिङदेनले भनेका छन्, ‘त्यसप्रकारको अभिव्यक्तिले आममहाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरु जो देशभरिबाट सहभागी हुनुभयो र नयाँ नेतृत्वको चयन गर्नुभयो। उहाँहरुमाथिको अपमान हो। त्यस प्रकारको अभिव्यक्तिले कसैलाई फाइदा गर्दैन। उहाँलाई त झनै फाइदा गर्दैन।’

के गर्लान् त कमल ?

पार्टी स्थापानादेखि नै आफैंले नेतृत्व गरेको पार्टीमा आफैंले नेता बनाएका आफ्नै चेला मानिएका लिङदेनले आफैंलाई हराएपछि राप्रपाका पूर्वअध्यक्ष थापा अहिले आफैं अन्यौलमा देखिएका छन्। यतिबेलै थापाले नयाँ पार्टी दर्ताको गृहकार्य चलाइरहेको चर्चापनि सार्वजानिक भएको छ।

थाहा समूहले निर्मल निवासमाथि छानबिन हुनुपर्ने असम्भव माग राखेको छ। लिङ्देन समूह राजसंस्थाको एजेण्डा बोकेको पार्टी कुनैपनि हालतमा पूर्वराजा ज्ञानेन्द्रमाथि छानबिन गर्ने पक्षमापनि छैन। र थापाको आरोप अप्रमाणित भएकाले समयक्रममा ठिक हुने बताउँदै आएका छन्।

तर थापा निकट स्रोतका अनुसार निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रमाथि छानबिन नभए कमल थापा यत्तिकै नबस्ने र अर्को नयाँ निर्णय लिन सक्ने बताएका छन्।

‘कमल थापामाथि दरबारले अन्याय गरेको छ। दुखको बेलामा आफ्नो ज्यान धरापमा राखेरपनि राजसंस्थाको एजेण्डा बोकेर हिड्यौँ। तर आज सोही दरबार सक्रिय भएर कमल थापालाई हराइयो। त्यसकारण उक्त विषयको प्रष्ट छानबिन नभए कमल थापा चुप लागेर बस्ने स्थितिमा हुनुहुन्न। छानबिन नभए नयाँ निर्णय लिनपनि सक्छौँ,’ थापा निकट स्रोतले भन्यो।

कमल थापा निकट युवा नेता राजाराम बर्तौलाका अनुसार थापा पार्टी विभाजन गर्ने मनाशयमा छैनन्। तर पार्टीलाई एकीकृत गरेर लैजाने कि यही ढंगबाट लाने भन्ने कुरा आफुहरुको कोर्टमा नरहेको उनको भनाइ छ।

पार्टीको महाधिवेशनमा राजाको हस्तक्षप भएकाले छानबिन हुनुपर्छ भनिराखेका छौँ। कमल थापापनि उक्त विषयमा अडिक हुनुहुन्छ। पुष २७ गते पृथ्वी जयन्तीलाई साक्षी राखेर हामी मेची महाकाली यात्रा अभियान तय गर्दै छौँ।’ बर्तौलाले भने, ‘त्यसको शुभारम्भ काठमाडौंबाट हुन्छ। त्यसपछि हामी विभिन्न जिल्लाहरुमा जान्छौँ। कार्यकर्तासँग अन्तक्रिया गछौँ। पार्टीमा भएका समस्याबारे कार्यकर्तालाई प्रशिक्षण दिन्छौँ।’

उनले अगाडि भने, ‘पार्टीभित्र केन्द्रीय सदस्यको मनोनयदेखि विधान विपरित कार्यकर्ता कारबाही गरिएको विषयमापनि हाम्रो असहमति रहेको छ। यो सबै विषयको छानबिन हुनुपर्छ। त्यसकारण पार्टी एकतालाई बलियो बनाउने कि,कमजोर पार्ने उहाँहरुकै कोर्टमा रहेको छ।’

राजसंस्था र हिन्दुराज्यको एजेण्डा बोकेको पार्टी पूर्वराजाप्रति गरिएको यो खाले टिप्पणीले राप्रपा मै बस्ने वाताबरण हुन्छ त? भन्ने डिसी नेपालको प्रश्नमा उनले भने, ‘राप्रपा भनेको लोकतान्त्रिक पार्टी हो।लोकतान्त्रिक पार्टीमा फरक मतहरुको पनि सम्मान हुनुपर्दछ। हामीले चाहेको सक्रिय राजसंस्थापनि हैन। लोकतन्त्र सहितको राजसंस्था भन्दै आएका हौँ।त्यसकारण प्रष्ट छानबिन गर्न केही अफ्टेरो छैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *