गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् ।
गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड–१९ लगायतका विषयमा जानकारी लिएका थिए।
यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था, खोप लगाएकाको सङ्ख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।
गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन् । सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएका थिए ।







डिसी नेपाल








Facebook Comment