गृहमग्त्रीले २० जिल्लाका सिडिओसँग शितलहर, हिमपात र कोभिडबारे जानकारी लिए

डिसी नेपाल
१५ माघ २०७८ १४:१२
8
Shares

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले शितलहर, हिमपात र कोभिडबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिएका छन् । शनिवार मन्ध्यान्ह २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँग टेलिफोन वार्ता गरी कोभिड–१९को संक्रमण, शित लहर र हिमपात बारे जानकारी लिएका हुन् । गरिब तथा अशक्तलाई बचाउन न्यानो कपडा र दाउरा वितरणबारे गृहमन्त्री खाँणले सिडिओसँग संवाद गरेका हुन् ।

शनिबार बिहान र मन्ध्यान्ह गरी दुई चरणमा गृहमन्त्री खाँणले सिडिओहरू मनाङका रविन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शंकरहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीसँग टेलिफोन संवाद गरी हिमपात, कोभिडबारे जानकारी लिएका थिए । त्यस्तै, मुगुका रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुंगाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका विरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग पनि टेलिफोन गरेका थिए ।

मन्त्री खाँणले सिन्धुपाल्चोकका बेदनिधी खनाल, इलामका माधवप्रसाद ढुंगाना, रसुवाका नवराज जैशी, म्याग्दीका चिरन्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएका थिए ।

उनले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शित लहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका थिए । सरकारले गत मंसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो । त्यो निर्देशनको कत्तिको कार्यान्वयन भयो भनेर मन्त्री खाँण प्रश्न गरेका थिए ।

ओखलढुंगाका सिडिओ तामाङले गृह मन्त्रीले टेलिफोनमा जिल्लामा कोभिड संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणको अवस्थाबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा मुख्यगरी जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शित लहरबारे जानकारी लिनुभयो,’ उनले भने ।

त्यस्तै, सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिए । इलामका प्रजिअ ढुंगानाले सीमाबाट आएका नागरिकमा कोभिडको संक्रमणको अवस्था, निको हुनेहरूको दर, विद्यालय सञ्चालनबारेको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए । गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैशीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड संक्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.