मुगुका मान्तेलाई काठमाडौँमा श्रीमतीको उपचार गराउन सकस

डिसी नेपाल
१५ माघ २०७८ १६:४५
40
Shares

काठमाडौं। मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उनी आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइ रहेका छन् ।

उनकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला परेका छन् । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुगेका शाही आर्थिक समस्यामा बल्झिएका छन्। ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।

“पैसा छैन डाक्टरले यो औषधि किन्नु पर्‍यो त्यो औषधि किन्नु पर्‍यो भन्न थाल्छन्” शाहीले फोनमा कुरा गर्दै भने, “ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?।” अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उनी सुनाउँछन् ।

काठमाडौँ उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताए। बिरामी श्रीमती बोकेर उनी गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हुँदै नेपालगञ्ज पुगेका थिए । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराएका थिए।

काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुगेका हुन् । उनका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए । आर्थिक अभावले उनको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत छन् । बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहेका छन् । काठमाडौँमै लामो समयदेखि ज्यालादारी काम गर्दै आइरहेका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहेका छन् । तर उनको पनि शाहीकै जस्तै अवस्था छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.