राजस्व चुहावट रोक्न ‘टास्क फोर्स’ बनाइन्छः मन्त्री शर्मा
फाइल
काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले राजस्व राष्ट्रको रगत पसिना भएकाले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन्। आज केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताए।
उनले राजस्व चुहावटलाई नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। “चुहावट नियन्त्रण आजैबाट सुरु गर्नुपर्छ”, मन्त्री शर्माले भने । यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने उनले बताए।
राजस्व चुहावट नियन्त्रण गर्न ‘अपरेशन’ आवश्यक रहेको भन्दै उनले यसलाई गृहमन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। सो अपरेशनका लागि विशेष टोली वा ‘टास्क फोर्स’ बनाइने उनले उल्लेख गरे। सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ ।
मन्त्री शर्माले आममानिसमा चेतना नहुँदा पनि कतिपय राजस्व चुहावट भइरहेको औँल्याए। सचेतनामूलक सन्देश फैलाउन आवश्यक रहेको उनले बताए। यसरी सन्देश फैलाएर सर्वसाधारणमा चेतना पैदा भई सम्पूर्ण निकाय मिलेर राजस्व चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।
नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था, द्रुत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्नेलगायत कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने उनले बताए। पछिल्लो समय डिजिटल प्रविधिमार्फत् राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका ‘अवैध’ कार्य भइरहेका छन् ।
यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बीजक तथा अन्तशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारबिन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको छ ।







डिसी नेपाल








Facebook Comment