संखुवासभा बस दुर्घटना अपडेट : उपचारका लागि घाइते लिन सेनाको हेलिकप्टर पुग्यो
संखुवासभा। संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ। १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो।
घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो।

बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए । बस दुर्घटनामा मृत्यु हुने १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ।
मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment