नेपाली फिल्ममा महिला सहभागिता किन कमजोर ?

डिसी नेपाल
३० फागुन २०७८ १४:४९
32
Shares

काठमाडौं। किपालय प्रडक्सनले ब्रिटिश काउन्सिलसँगको सहकार्यमा नेपाली फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने छलफल गरेको छ।

नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा फिल्म तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति तथा भूमिकाका विविध पाटोमाथि छलफल गरिएको थियो। कार्यक्रमका अधिकांश सहभागीले फिल्म तथा मिडिया दुवैमा महिलाको संख्या मात्र कम नभएर दुवै क्षेत्रमा उनीहरूको हस्तक्षेपकारी भूमिका पनि नभएको निष्कर्ष प्रस्तुत गरेका थिए।

ब्रिटिश काउन्सिलले महिला दिवसको दिन ८ मार्चबाट सुरु गरी १० दिनसम्म मनाइरहेको विविध कार्यक्रममध्ये एक दिन वुमन अफ दिन वल्र्ड फेस्टिभलअन्तर्गत फिल्म डेको रुपमा मनाउने निर्णय गर्दै फिल्ममा महिलाको भूमिकालाई केन्द्रमा राखेर कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको पहिलो सेसनमा सात जना महिला फिल्मकर्मीले बनाएका छोटा फिल्म प्रर्दशन र छलफल चलाइएको थियो। ‘महिला र उनीहरूको कथा वाचन’ शीर्षकमा समेटिएको फिल्म स्क्रिनिङ तथा छलफलमा फिल्मकर्मी सपना बेलबासे, शिरिषा कुँवर र जियोन मगरसँग पुष्पा जोशीले छलफल चलाएकी थिइन्। १८ वर्षभन्दा माथि र तल गरी दुई श्रेणीमा विभाजन गरी देखाएका फिल्ममा दोस्रो चरणमा १८ वर्षभन्दा मुनिका महिलाले बनाएका फिल्म देखाएर छलफल गरिएको थियो।

दोस्रो सत्रमा भने नेपाली फिल्ममा महिलाको चरित्र चित्रणसम्बन्धी समस्यालाई प्रस्तुत गरिएको थियो। कार्यक्रममा पिंकी शिरिष रानाले नारीवादको आँखाबाट नेपाली सिनेमा र मिडियामा महिलाको अवस्था प्रस्तुत गरेकी थिइन् भने अभिमन्यु दीक्षितले विगतदेखि वर्तमानसम्ममा नेपाली सिनेमामा महिलाको प्रतिनिधित्वको चर्चा गरेका थिए।

सो सत्रमा केही नेपाली सिनेमाका प्रतिनिधि दृश्यहरू देखाउँदै तिनले समग्र नेपाली सिनेमाको अवस्था बयान गर्ने आसय व्यक्त गरिएको थियो । यो सत्रको संयोजन गौंथली इन्टरटेनमेन्टले गरेको थियो।

कार्यक्रमको तेस्रो भागमा भने नेपाली सिनेमामा महिलाको वर्तमान अवस्था, अवसर तथा चुनौतीका विषयमा राउन्ड टेबल छलफल चलाइएको थियो। अभिनेत्री उषा रजकले सहजीकरण गरेको छलफलमा फिल्ममार्फत नारी सशक्तिकरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिको सहभागी रहेको थियो।

छलफलमा सहभागी अधिकांशले आफूहरूले संस्थागत रुपमा अडियो भिज्युवल प्रडक्सनमा महिलाको सहभागिता बढाउन विभिन्न कार्यक्रम गरिरहेको दावी गरेका थिए। अधिकांशले लैंगिक विभेदलाई प्रश्रय दिने सामाजिक सोचमा परिवर्तन नल्याएसम्म यो क्षेत्रमा सोचे झैँ महिलाको प्रतिनिधित्व गराउन नसकिने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.