छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
काठमाडौं। संखुवासभा, सल्यान, बैतडी, पर्सा र कञ्चनपुरका छुट्टाछुट्टै स्थामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। संखुवासभाको चैनपुर नगरपालिका–११ गहतेमा को.२ त ४२९४ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक सोही नगरपालिका–३ पोखरी बस्ने २४ वर्षीय बिनाहाङ लिम्बु रहेका छन्।
दुर्घटनामा गम्भीर गाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो।
सल्यानको शारदा नगरपालिका–१ पट्नेरीमा रा.४ प ९१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपेश डाँगीको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कर्णाली अस्पताल श्रीनगर हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका मोटरसाइकल चालक सितलपाटी बस्ने २६ वर्षीय निरज सिंहको कर्णाली अस्पताल श्रीनगरमा उपचार भइरहेको छ।
बैतडीको दशरथ चन्द नगरपालिका–१० भाटलामा सु.प.प्र ०१– ०० २ त ५५९८ नम्बरको ट्रयाक्टर शनिबार राति दुर्घटना हुँदा चालक अर्जुन थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्साको ठोरी गाउँपालिका–३ मा प्रदेश २–०३–००१ ह ६२८ नम्बरको अटो दुर्घटना हुँदा चालकको मत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ३५ वर्षीय वीर बहादुर बिश्वकार्मा रहेका छन्। उनको आइतबार बिहान घटनास्थमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ३ जनालाई उपचारका लागि सोही गाउँपालिका–५ स्थित उन्नति मेडिकल सुवर्णपुर पठाइएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडामा से.२ प ९६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक हस्ते चौधरीको मृत्यु भएको छ। शुक्रबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढी कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो।







डिसी नेपाल








Facebook Comment